करचुक्ता प्रमाणपत्रको आधिकारिकता जाँच घरबाटै गर्न सकिने

0
Shares

करसंग सम्बन्धित विवरणका लागि कर कार्यालय नै जानुपर्ने समस्या समाधान भएको छ । आन्तरिक राजस्व विभागले वेवसाइट अध्यावधिक गर्दै करचुक्ताको प्रमाणपत्र प्राप्त भए नभएको खोजी गर्न सकिने प्रणालीको विकास गरेको हो ।

करदाताले प्यान नम्बर, आर्थिक वर्ष र प्रमाणपत्र नम्बर राखेपछि प्रमाणपत्रले आधिकारिकता पाए/नपाएको हेर्न सकिने व्यवस्था गरेको छ । पछिल्लो समय विभागले कर बुझाउन कर कार्यालयमै धाउनु पर्ने बध्यता हटाउँदै बैंक वा विद्युतीय भुक्तानीका माध्यमबाट समेत कर तिर्न सकिने प्रणालीको विकास गरेको थियो ।

करदाताले कर तिरिसकेपछि आफैं करचुक्ता प्रमाणपत्र डाउनलोड समेत गर्न सक्छन् ।सोही प्रमाणपत्रको आधिकारिकता जाँच वेबपोर्टलबाट गर्न सकिने भएको छ।

विभागले प्रारम्भमा साना करदाताका लागि विद्युतीय माध्यमबाटै करचुक्ता प्रमाणपत्र समेत जारी हुने गरी प्रणाली बनाएको हो । यसका लागि विभागको एकीकृत कर प्रणालीमा विद्युतीय कर चुक्ता प्रमाणपत्र माग गर्न सकिने गरी प्रणाली बनाएको छ।

आय विवरण र कर बक्यौता भए नभएको सुनिश्चित गरी बक्यौता नभएमा कर चुँक्ता प्रमाणपत्र स्वचालित प्रणालिमा जारी व्यवस्था गरेको छ। विभाग अन्तर्गत प्रत्येक कार्यालयको छट्टा छुट्टै वेव पेज रहने गरी वेबसाइटमा कार्यालहरुको मेनु राखिनेछ । वेब पेज सम्बन्धित कार्यालयले नै व्यवस्थापन गर्न सकिने व्यवस्था रहेको छ ।

करका दर तथा छुट सुविधाहरु सम्बन्धी जानकारी करदाताले सहज रुपमा प्राप्त गर्न सक्ने गरी वेबसाइटको मुख्य पृष्ठमा रहेको छ । करदाता शिक्षा तथा सचेतना अभिवृद्धि गर्ने, करदाता दर्ता, कर विवरण र कर दाखिल, कर फिर्ता भुक्तानीमा, कर कट्टी सम्बान्धी व्यवस्था, कर छुट पाउने संस्था सम्बन्धी व्यवस्था लगायतका सुचनाहरु तयार गरी करदाता शिक्षा मेनुमा राखिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।