रिलायन्स लाइफको शेयर स्पेशल प्रि ओपनिङ्गमा अधिकतम रेञ्जमा कारोबार

0
Shares

रिलायन्स लाइफ इन्स्योरेन्सको लिमिटेड (RLI) को शेयर आजदेखि नेप्सेमा किनबेच भएको छ । कम्पनीको शेयर १० कित्ताका दरले ५० कित्ता शेयर अधिकतम रेञ्ज प्रतिकित्ता ३२२ रुपैयाँका दरले कारोबारमा आएको हो ।

सोमबार नेप्सेमा शेयर सूचीकरण भएसँगै मंगलबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार खुलेको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले न्यूनतम प्रतिकित्ता १०७.५९ रुपैयाँदेखि अधिकतम ३२२.७७ रुपैयाँसम्म ओपनिङ्ग रेञ्ज दिएको थियो ।

नेप्सेले हरेक कम्पनीलाई पहिलो कारोबारका लागि प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्म अधिकतम कारोबार रेञ्ज प्रदान गर्ने गर्छ । यसअनुसार कम्पनीको शेयर यहि रेञ्जबाट पहिलो कारोबार सुरु हुनेछ । इन्स्योरेन्सको शेयर कारोबारका लागि नेप्सेले आरएलआई कारोबार संकेत प्रदान गरेको छ ।

कम्पनीले भदौ २२ गते नेपाल स्टक एक्सचेञ्जमा २ करोड १० लाख कित्ता शेयर सूचीकृत गराएको छ । कम्पनीको ६३ लाख कित्ता साधारण शेयर सहित कूल २ करोड १० लाख कित्ता शेयर दोस्रो बजारमा कारोबारका लागि सूचीकृत भएको हो । कम्पनीमा शेयर संरचनामा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत साधारण शेयर अनुपात रहेको छ।

भदौ ४ देखि ८ गतेसम्म इन्स्योरेन्सले ६३ करोड रूपैयाँ बराबरको ६३ लाख कित्ता साधारण शेयर (आइपीओ) मध्ये कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर सर्वसाधारणमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता शेयर बिक्रीमा ल्याएको थियो ।

उक्त आईपीओ ५ लाख ६७ हजार जनाले गोलाप्रथाबाट १० कित्ताका दरले प्राप्त गरेका थिए । आईपीओमा ५ लाख ८९ हजार ४६४ जनाले आवेदन गरेकोमा २० हजार ५०९ जना आवेदकको हात खाली भएको थियो भने १ हजार ९५५ वटा आवेदनहरु रद्द भएका थिए ।

कम्पनीले सनराइज क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । यससँगै रिलायन्सको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य सनराइज क्यापिटल कमलपोखरी मार्फत हुनेछ ।

प्रकाशित मिति: २३ भदौ २०७७, मंगलबार  १० : ५५ बजे