सिद्धार्थ बैंकको लगानीकर्तालाई निरन्तर प्रतिफल, ३५ करोड पूँजी १८ वर्षमा पुग्यो पौने १० अर्ब

0
Shares

देशको १७ औं वाणिज्य बैंकको रुपमा २०५९ सालामा स्थापना भएको सिद्धार्थ बैंकले पुस ११ गते शनिबार सञ्चालनको १८ वर्ष पूरा गरेको छ । यो अवधिमा बैंकले वित्तीय रुपमा मात्र नभई बैंकिङ्ग सेवा तथा कार्यक्षत्र विस्तारका दृष्टिकोणबाट पनि आफुलाई सबल, सक्षम र प्रतिस्पर्धी संस्थाको रुपमा स्थापित गर्न सफल भएको छ ।

वि.सं २०५९ सालमा ३५ करोड रुपैयाँ चुक्ता पूँजी कायम गरी स्थापना भएको बैंकले २०६२ सालमा सर्वसाधारणमा शेयर निष्काशन गरी चुक्ता पूँजी ५० करोड रुपैयाँ बनाएको थियो । करिब २ दशकको अवधिमा बैंकले ३५ करोडको चुक्ता पुँजीलाई बढाएर ९ अर्ब ७८ करोड ७७ लाख रुपैयाँ पुर्याएको छ ।

बैंकले सर्वसाधारणमा शेयर निष्काशन गरेपछि हालसम्म अर्थात १६ वर्षसम्म लगातार शेयरधनीलाई निरन्तर प्रतिफल दिई नै रहेको छ । यो अवधिमा बैंकले नगद लाभांश भन्दा पनि बोनस शेयर धेरै दिएको अवस्था छ । २०६२ सालान १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण शेयर निष्काशन गरी चुक्ता पूँजी ५० करोड पु¥याएको थियो ।

साधारण शेयर निष्काशन लगत्तै बैंकले आर्थिक वर्ष २०६३/२०६४ मा १५ प्रतिशत बोनस शेयर वितरण गरेर चुक्ता पूँजी ६० करोड रुपैयाँ पु¥याएको थियो । त्यसपछि बैंकले क्रमशः आर्थिक वर्ष २०६४/६५ मा १५, २०६५/६६ मा १५ बोनस शेयर वितरण गरेको थियो । आर्थिक वर्ष २०६६/६७ मा आउँदा बैंकले शेयरधनीलाई ८.४२ प्रतिशत नगद लाभांश दिएको थियो ।

हाल सर्वसाधारणमा ४९ तथा संस्थापक समुहमा ५१ प्रतिशत शेयर हिस्सा रहेको बैंकमा पूर्ण रुपमा नेपाली लगानीकर्ताको लगानी रहेको छ । बैंकमा मरवाडी समुदायको बाहुल्यता रहेको छ । बैंकको प्रवद्र्धनमा केडिया र अग्रवाल समुदायको धेरै हिस्सा रहेको छ । नेपालको बैंकिङ्ग क्षेत्रमा विदेशी लगानीका तथा विदेशी बैंकका सहायक कम्पनीको रुपमा स्थापित भएका बैंकहरुसँग प्रतिस्पर्धा गर्दै सिद्धार्थ बैंकले हाल मुलुकभरि बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

साना तथा मझौला उद्यमीलाई प्रवद्र्धन गर्ने उद्देश्य सहित स्थापना भएको बैंकले नेपाल सरकारकोे नीति तथा प्राथमिकता अनुसार बैंकले उत्पादनमूलक क्षेत्र कृषि, जलविद्युत, पर्यटन तथा विपन्न वर्गमा आफ्नो कर्जा सेवा विस्तार गर्देै आएको छ । वाणिज्य बैंक तथा अन्य बैंकिङ्ग सेवाबाट समेत वञ्चित भएका वर्गहरूलाई समाहित गरी एकै थलोबाट सम्पूर्ण बैकिङ्ग सेवा प्रदान गर्ने रणनीति अनुरूप देशभरका शाखाहरूमा छुट्टै लघु बैंकिङ्ग युनिट मार्फत ग्राहक केन्द्रित विशिष्टकृत सेवा प्रदान गर्दै आईरहेको छ ।

त्यसैगरी नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकिङ्ग पहुँच नपुगेका स्थानीय तहमा खुलेका शाखाहरूमा समेत ग्रामीण बैंकिङ्ग मोडल अनुसार सबै शाखाहरू निर्धारित समयभित्रै सञ्चालनमा ल्याईएको तथा सोही क्षेत्रलाई आवश्यक पर्ने बैंकिङ्ग सेवाको विकास गरी सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले लघु बैंकिङ्ग सेवा अन्तर्गत ‘सिद्धार्थ सरल लघु कर्जा’, ‘सिद्धार्थ सरल कृषि कर्जा’, ‘सिद्धार्थ रिक्सा कर्जा’, ‘सिद्धार्थ न्यून लागत ग्रामिण आवास कर्जा’, ‘सिद्धार्थ स्थानीय हाईड्रो शेयर कर्जा’ जस्ता सरल एवं प्रभावकारी सेवाहरू कार्यान्वयनमा ल्याएको छ । साथै, बैंकले समीक्षा अवधिबाट ‘सिद्धार्थ कृषि उपकरण कर्जा’ समेत प्रदान गर्दै आएको छ ।

पछिल्लो एक दशकको अवधिमा बैंकको खुद नाफा २३ करोडबाट बढेर २ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । यो अवधिमा बैंकको सञ्चित कोष समेत ४२ करोडवाट बढेर ५ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । हाल ९ अर्ब ७८ करोड ७७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले पुँजी वृद्धिका लागि हालसम्म ४ पटक हकप्रद शेयर निष्काशन गरेको छ । बैंकको हालसम्मको धेरै अनुपातको हकप्रद शेयर भनेको १० शेयर बराबर ३ को अनुपातमा निष्काशन गरेको थियो ।

साधारण शेयर निष्काशन पछि धितोपत्रको दोस्रो बजार कारोबारका लागि सूचीकृत बैंकको सबैभन्दा न्यून मूल्य २८५ रुपैयाँ रहेको थियो । त्यसपछि धितोपत्र बजारमा आएको पहिलो बुल २०६५ भदौ १५ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक १ हजार १७५ अंकमा पुगेको अवस्थामा बैंकको शेयर मूल्य १ हजार ३२५ रुपैयाँसम्म पुगेको थियो । त्यसपछि २०७३ मा नेप्सेले बनाएको अर्को नयाँ उचाइ १ हजार ८८१ बिन्दुमा पुगेको समयमा बैंकको प्रतिकित्ता शेयर मूल्य १ हजार २६४ रुपैयाँ सम्म पुगेको थियो । अहिले नेप्से सूचकले अर्को नयाँ उचाइ २ हजार १ बिन्दु बनाएको छ । हाल बैंकको प्रतिकित्ता शेयर मूल्य करिब ४०० रुपैयाँको हाराहारीमा रहेको छ ।

अठार वर्षको यात्रामा बैंकले वित्तीय एवं अन्य विभिन्न सूचकांकहरुमा उल्लेखनीय प्रगति गरेको छ । बैंकको हालको चुक्ता पूँजी ९ अर्ब ८७ करोड सहित कुल सम्पत्ति १६ अर्ब रहेको छ । यस बैंकले १५७ अर्ब निक्षेप संकलन गरी १३६ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ । हाल बैंकले देशभरका १८८ शाखा एवं सेवा केन्द्र मार्फत १० लाखभन्दा बढी सेवाग्राहीहरुलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिँदै आधुनिक सूचना प्रविधिको माध्यमबाट विभिन्न कार्ड सेवा, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, अनलाईनबाटै खाता खोल्न सकिने जस्ता बैंकिङ्ग सुविधाहरुको सरल एवं ग्राहक मैत्री सेवा प्रवाह गर्दै आएको छ ।

हाल बैंकले २ हजार ५०० भन्दा धेरैलाई रोजगारी प्रदान गर्दे आएको छ । बैंकले गत आर्थिक वर्षमा मात्र देशको राजश्वमा २ अर्ब रुपैयाँ भन्दा धेरै योगदान पु¥याएको छ । बैंकले देशको आर्थिक विकासको लागि उद्यमशीलता अभिवृद्धि गर्नुपर्नेमा बैंकको सदैव जोड रहि आएकोले मुलभूतरुपमा लघु, साना तथा मझौलास्तरका उद्यम व्यवसायलाई लक्षित गरी कर्जा लगानी गर्ने नीति अवलम्बन गरी सोही अनुसार बैंकले कर्जा प्रवाह गरिरहेको छ ।

१८ औं वार्षिकोत्सवको अवसरमा बैंकले देशभरका १४ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । साथै ग्राहकहरुलाई डिजिटल बैंकिङ्ग प्रणालीतर्फ समाहित हुन अभिप्रेरित गर्ने उद्देश्यले प्रोत्साहन स्वप विभिन्न प्रकारका क्यास ब्याक योजनाहरु समेत सार्वजनिक गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।