नेप्सेमा दुई कम्पनीको करिब २ करोड कित्ता शेयर सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा फागुन ६ गते मंगलबार १ करोड ९४ लाख ५८ हजार ३६१ कित्ता शेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार एनसीसी बैंक (NCCB) को १ करोड २२ लाख ७६१ कित्ता बोनस र युनाइटेड इन्स्योरेन्स (UIC) को ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद दोस्रो बजारमा कारोबार गर्नमिल्ने गरि सूचीकरण गरिएको हो।

यससँगै एनसीसी बैंकको साधारण सभाका लागि बुकक्लोजको अघिल्लो दिनसम्म कायम रहेका शेयरधनीले बोनस र युनाइटेड इन्स्योरेन्सको हकप्रदका लागि बुकक्लोजको अघिल्लो दिनसम्म कायम लगानीकर्ताले हकप्रद शेयर आफ्नै डिम्याट खातामा प्राप्त गर्नेछन्।

आफ्नो खातामा शेयर प्राप्त भएपछि दुबै कम्पनीका शेयरधनीले धितोपत्रको दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन्।

एनसीसी बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ माघ ७ गते बुकक्लोज गरेकाले माघ ६ गतेसम्म कायम शेयरधनीले मात्र उक्त लाभांश पाउनेछन्। बैंकको माघ १७ गते सम्पन्न २२ औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश अनुमोदन गरेको थियो। आठ अर्ब १३ करोड ३८ लाख ४१ हजार रुपैयाँ चुक्ता पूँजी रहेकोमा बैंकको बोनस पश्चात चुक्ता पूँजी ९ अर्ब ३५ करोड ३९ लाख १७ हजार पुगेको छ।

उता युनाइटेड इन्स्योरेन्सले पूँजी वृद्धि गर्न गत भदौ ३ देखि असोज २३ गतेसम्म चुक्ता पूँजीको २४० प्रतिशत अर्थात १० बराबर २४ कित्ता शेयरको अनुपातमा ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद बिक्रीमा ल्याएको थियो।

३० करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको युनाइटेड इन्स्योरेन्सको हकप्रद शेयर बिक्री पश्चात पूँजी एक अर्ब २ करोड ८१ लाख रुपैयाँ पुगेको छ। इन्स्योरेन्सले हकप्रद निष्काशनका लागि साउन १४ गते बुकक्लोज गरेकाले बुकक्लोजको अघिल्लो दिन अर्थात साउन १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त शेयर पाउनेछन्।

प्रकाशित मिति: ६ फाल्गुन २०७६, मंगलबार  १२ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।