सिटिजन्स बैंकको ऋणपत्रमा आवेदन खुल्यो, ब्याजदर वार्षिक १०.२५ %

0
Shares

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड (CZBIL) ले फागुन २० गतेदेखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्याएकोे छ । बैंकले “१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६” निष्काशन गरेको हो।।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। जसमध्ये १ अर्ब ५० करोड रुपैयाँबराबरको १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणका लागि बिक्री गर्नेछ।

सर्वसाधारणका लागि निष्काशन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ९ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सक्न ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।

१० वर्ष अवधि रहेको सो ऋणपत्रमा बैंकले वार्षिक १०.२५ प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय अर्धवार्षिक समाप्त भएपश्चात ब्याज भुक्तानी गर्नेछ।

सो ऋणपत्रमा छिटोमा फागुन २३ गते र ढिलोमा चैत ४ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

बैंकले निष्काशन गर्न लागेको ऋणपत्रलाई इक्रा रेटिङ्ग नेपालले इक्रा एनपी एल त्रिपल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले बैंकको ऋणपत्रमा मध्यम कर्जा जोखिम भएको सङ्केत गर्दछ।

बैंकले हाल ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख सेवाग्राहीलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: २० फाल्गुन २०७६, मंगलबार  ०८ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।