विश्व बैंकले नेपाल सरकारलाई करिब  १२ अर्ब ऋण उपलब्ध गराउने

0
Shares

विश्व बैंकले कोभिड–१९ सङ्कट, विद्युत् क्षेत्रको सञ्चालन तथा वित्तीय क्षमता सुधारका निम्ति नेपाल सरकारलाई करिब  १२ अर्ब ऋण उपलब्ध गराउने भएको छ ।

बैंकको कार्यकारी बोर्डले विकास नीति ऋणअन्तर्गत आज उक्त रकम नेपाललाई प्रदान गर्ने निर्णय गरेको हो। यो रकम कोरोना भाइरसका कारण उत्पन्न संकटपछिको सुधारका काममा पनि खर्च हुनेछ।

नेपालको ऊर्जा क्षेत्रबाट प्राप्त हुने आर्थिक विकासका सम्भावनालाई दृष्टिगत गरी बैंकले नीतिगत प्रमुख विषय, नियमन तथा संस्थागत सुधार गर्न ऋण स्वीकृत गरेको वासिङ्टनडिसीस्थित बैंकको प्रधान कार्यालयले जनाएको छ ।

नेपालको अपार जलस्रोतको सर्वाधिक उपयोग गर्दै विद्युत्को क्षेत्रीय बजारमा बृहत् एकीकरण गर्न तथा नेपाल विद्युत् प्राधिकरणको वित्तीय क्षमता सुधार, प्राधिकरणको नियमन दायरा विस्तार, त्यसको स्वायत्तता, पारदर्शिता, जवाफदेहिता एवं पुनःसंरचनामा सघाउन ऋण रकम स्वीकृत गरिएको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

विश्व बैंकका राष्ट्रिय प्रबन्धक फारिस हदाद जेर्भोसले नेपालको ऊर्जा क्षेत्रमा निरन्तर सुधारका लागि सहयोग गरिरहेको र संकटपछिको सुधारका कामका लागि यो ऋण सहायता स्वीकृत गरिएको बताएका छन्।

प्रकाशित मिति: २१ जेष्ठ २०७७, बुधबार  १६ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।