बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन काउन्टर शनिबार पनि खोल्न निर्देशन

0
Shares

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई शनिबार लगायतका सार्वजनिक बिदाका दिनमा पनि आफ्ना शाखा कार्यालय खोल्न निर्देशन दिएको छ।

राष्ट्र बैंकले कर संकलनका लागि शनिबार पनि बैंकहरुलाई शाखा खोल्न भनेको हो।

करदाताहरूले कर सहज रूपमा बुझ्ने व्यवस्था गर्नका लागि आगामी असार ३२ सम्म सार्वजनिक बिदामा पनि बैंक शाखा खोल्न निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ।

सरकारको निर्णय अनुसार करदाताहरुले २०७६ फागुन र चैत महिनाको बुझाउनु पर्ने कर विवरण आय विवरण तथा ती विवरण अनुसार भुक्तानी गर्नु पर्ने कर दाखिला गर्ने मिति असार ७ गतेसम्म भएकाले शनिबार तथा जुनसुकै सार्वजनिक बिदामा पनि राजस्व संकलन गर्ने शाखा तथा काउन्टर खोल्न राष्ट्र बैंकले निर्देशन दिएको हो।

साथै केन्द्रिय बैंकले क्लियरिङ सम्बन्धि काम गर्ने काउन्टर लगायत नेपाल क्लियरिङ हाउसलाई पनि पूर्णकालिन संचालन गर्न निर्देशन दिएको छ ।

सरकारले थप्यो कर तिर्ने म्याद, कुन कर कहिलेसम्म तिर्नुपर्छ ?

सर्वोच्चले भन्यो- ‘बन्दाबन्दी खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था गर्नू’

आन्तरिक राजश्व कार्यालयले चैत महिनासम्मको राजस्व आगामी असार ७ र १५ गतेभित्र भुक्तानी गर्न निर्देशन दिएको छ। जसको चौतर्फी विरोध भएपछि व्यवसायी र अर्थमन्त्रालयको छलफलमा तोकिएको अवधिमा सक्नेले कर तिर्ने र नसक्नेका लागि समय थप गर्ने सहमति समेत बनिसकेको छ ।

यता सर्वोच्च अदालतले बन्दाबन्दी पूर्ण रुपमा खुलेकोपछि ३० दिनभित्र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र मनोजकुमार शर्माको संयुक्त इजलासले बुधबार जारी गरेको आदेशमा बन्दाबन्दी खुलेपछि बाटोको म्याद बाहेक ३० दिनभित्र सम्बन्धित विवरण र कर बुझाउन सक्ने गरी व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरेको हो ।

 

प्रकाशित मिति: ३० जेष्ठ २०७७, शुक्रबार  ०७ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।