काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमितको सङ्ख्या १०० नाघेको छ। आज पाँच थपिएपछि सङ्क्रमितको सङ्ख्या जिल्लामा १०२ पुगेको छ ।
आज पुनः धुलिखेल अस्पतालका तीन कर्मचारी तथा बनेपा नगरपालिका–९ को २९ वर्षीय एक महिला र बनेपा नपा–१३ को एक पुरुषमा कोराना सङ्क्रमण पुष्टि भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले जनाएको छ ।
मङ्गलबार अस्पतालको ६ कर्मचारी सहित १६ मा कोरोना सङ्क्रमण भएको थियो। केही दिनदेखि काभ्रेपलाञ्चोकमा कोरोना सक्रमितको सङ्ख्या बढ्दै गएको पाइएको छ। सोमबार चार, आइतबार पाँच, शनिबार नौ र शुक्रबार १० मा सङ्क्रमण देखिएको थियो।
सङ्क्रमित काभ्रेलीको तथ्याङ्क उकालो लाग्दा यहाँका बासिन्दा त्रसित बन्दै गएका छन् । हालसम्म काभ्रेपलाञ्चोकका १०२ मा कोरोना सङ्क्रमण देखिएको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्र झाले जानकारी दिए।
उनका अनुसार कुल सङक्रमितमध्ये एक महिला र एक पुरुषको मृत्यु भएको छ भने ३५ उपचारपछि घर फर्किएका छन्। बाँकी सङक्रमितको आइसोलेशनमा उपचार भइरहेको जनाइएको छ।
काभ्रेपलाञ्चोकका १३ स्थानीय तहलगायत संस्थाले ८४५ श्ययाको क्वारेन्टिन तथा ३९ श्ययाको आइसोलेशन बेड व्यवस्थित गरेका छन्। पोष्टका अनुसार हाल स्थानीय तहलगायत संस्थाको क्वारेन्टिनमा ७६ पुरुष र १३ महिला बसेका छन्।
छिमेकी भारतलगायत तेस्रो मुलकबाट आएका जिल्लाका ९४२ पुरुष र १९३ महिला क्वारेन्टिनको बसाईपछि घर फर्किएका छन्। हालसम्म तेस्रो मुलुकबाट मात्रै ४२६ काभ्रेली घर फर्किएका हुन्।










प्रतिक्रिया