अपि पावर कम्पनीको तेश्रो जलविद्युत आयोजना माथिल्लो चमेलिया निमार्णका लागि ६ वटा बैंक तथा वित्तीय संस्थाले ५ अर्ब १८ करोढ ऋण लगानी गर्ने भएका छन् ।
कम्पनीले सुदुर पश्चिम प्रदेश, दार्चुला जिल्ला, अपि हिमाल र मार्मा गाउँपालिका भई वहने चमेलिया नदीको पानी उपयोग गरी ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणको काम शुरु गरेको छ ।
उक्त आयोजना निर्माणका लागि जम्मा ७ अर्ब ४० करोड लगानी लाग्ने अनुमान गरिएकोमा ७० प्रतिशत लगानी हिमालयन बैंकको अगुवाईमा जुटेको हो । उक्त आयोजनामा कर्मचारी संचय कोष, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नेपाल बङ्गलादेश बैंक र सेञ्चुरी कमर्सियल बैंकले सह–वित्तियकरणमा ऋण प्रवाह गर्ने भएका हुन । उक्त सम्झौतामा आश्विन ११ गते आइतबार हस्ताक्षर सम्पन्न भएको छ ।
कुल लागत मध्ये ३० प्रतिशतले हुने रकम २ अर्ब २२ करोड कम्पनीले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर जारी गरी २ चरणमा रकम संकलन गर्ने जनाएको छ।

यो आयोजना निर्माणका लागि शेयरधनीहरुबाट स्वपूँजी जुटाउनका लागि (२०७५ साल आषाढ मसान्तमा कायम) चुक्ता पूँजी एक अर्ब १३ करोड ४० लाखको १ः०.४७ को अनुपातमा ५६ करोड ७० लाख हकप्रद शेयर जारी गर्नका लागि मिति २०७६ साल फाल्गुण १२ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेको छ । कम्पनीको हालको चुक्ता पूँजी एक अर्ब १९ करोड छ ।
आर्थिक वर्ष २०७५/०७६ मा कम्पनीले ५ प्रतिशतका दरले शेयरधनीहरुलाई वोनश शेयर प्रदान गर्ने निर्णय गरेको छ । आ.व २०७५/०७६ को ५ प्रतिशतको वोनश शेयर सम्बन्धित शेयरधनिहरुको खातामा हाल्ने हो भने कम्पनीको चुक्ता पूँजी एक अर्ब १९ करोडबाट ५ प्रतिशतले बढ्न जानेछ र कम्पनीलाई प्राप्त १ बराबर ०.४७ को हकप्रद शेयरको समिकरण बिग्रन जान्छ । यस कारण हकप्रद जारी गरे पश्चात कम्पनीले ५ प्रतिशतको बोनश शेयर सम्बधित शेयरधनीहरुको खातामा जम्मा गर्ने जनाएको छ । यसपछि कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा आर्जित नाफाबाट दोहोरो अंकमा शेयरधनीहरुलाई लाभांश उपलब्ध गराउने जनाएको छ ।
यस आयोजनाबाट वार्षिक २६ करोड ४१ लख युनिट विद्युत उत्पादन हुने र उत्पादित विद्युत मध्ये ३० प्रतिशत हिँउदका ६ महिनामा र बाँकी ७० प्रतिशत वर्षाका ६ महिनामा उत्पादन हुने कम्पनीको भनाई छ । यस आयोजनाको विद्युत बिक्रिबाट प्रथम वर्ष १ अर्ब ६२ करोड आय आर्जन गर्ने र यस आयमा ८ वर्षसम्म वार्षिक ३ प्रतिशतका दरले वृद्घि हुँदै जाने निमार्ण कम्पनीको भनाई छ ।
अपि पावर कम्पनी लिमिटेड वि.स. २०६० साल अषाढ ५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई वि.स. २०७० साल श्रावण ६ गते पब्लिक लिमिटेड कम्पनीमा परिणत भई जलविद्युत सम्बन्धि व्यवसाय गरिरहेको कम्पनी हो । कम्पनीको हालको अधिकृत पूँजी ५ अर्ब, जारी पूँजी ४ अर्ब र चुक्तापूँजी एक अर्ब १९ करोड रहेको छ ।
कम्पनीले आफ्नो लगानी तथा बैक ऋणबाट सुदुर पश्चिम प्रदेश, दार्चुला जिल्लामा वहने नौगड गाढ नदीको पानी उपयोग गरी प्रथम आयोजनाको रुपमा ८.५ मेगावाट क्षेमताको नौगड गाढ जलबिद्युत आयोजना निर्माण सम्पन्न गरी वि.स.२०७२ भाद्र २ गते देखी राष्ट्रिय ग्रिडमा बिद्युत प्रवाह गरी व्यापारिक उत्पादन गरिरहेको छ । सुदुर पश्चिम प्रदेशमा नीजि लगानीबाट १७ महिना भित्र निर्माण गरी संचालन भएको यो नै पहिलो जलविद्युत आयोजना हो ।
कम्पनीले दोश्रो आयोजनाको रुपमा सोही नदीको पानी उपयोग गरी ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजना मिति २०७६ साल कार्तिक १३ गतेबाट व्यापारिक उत्पादन गरी राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह गरिरहेको छ । कम्पनी द्वारा संचालनमा रहेका यी दुवै आयोजनाबाट उत्पादित विद्युत शक्ति नेपाल विद्युत प्राधिकरणको अत्तरीया–वलाँच १३२ के.भी. ट्रान्समिसन लाईन मार्फत विद्युत प्रवाह भईरहेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया