लागत आधा घट्दा समेत आरएमडिसी लघुवित्तको नाफामा गिरावट

0
Shares

आरएमडिसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत आवको यसै अवधिको तुलनामा साढे २१ प्रतिशतले नाफा घटेको वित्तीय विवरण सार्वजनक गरेको छ ।

लघुवित्तले चालु आवको ६ महिनाको अवधिमा ११ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१।४९ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १४ करोड ६१ लाख रपैयाँ खुद नाफा कमाएको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी घटेपछि खुद नाफा घटेको हो । लघुवित्तको कस्ट अफ फण्ड उच्चदरले घटेपनि ब्याजदर घट्दा नाफा बढाउन सकेन। जसको कस्ट अफ फण्ड ४.५९ प्रतिशत छ । जबकि अघिल्लो वर्ष ९.३४ प्रतिशत थियो ।

लघुवित्तले यस अवधिमा ७ अर्ब ७६ करोड ८२ लाख रुपैयाँ सापटीबाट ९ अर्ब ६४ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। लघुवित्तले सापट रकम ७ प्रतिशत बढी तथा कर्जा २२ प्रतिशत बढीले बढाएपनि ब्याज आम्दानी खस्केपछि नाफा प्रभावित भएको हो ।

६ महिनाको अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २० करोड १२ लाख रुपैयाँमा सीमित भएको छ। जुन गत आवको तुलनमा ३ करोड २१ लाख रुपैयाँ कम हो । त्यस्तै सञ्चालन मुनाफा पनि ४ करोड ६४ लाख रुपैयाँले घटेको छ ।

समीक्षा अवधिमा लघुवित्तको यस्तो कर्जा शून्य प्रतिशतबाट बढेर ०.०६ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा १ करोड ७० लाख रुपैयाँ छुट्याएको छ।

एक अर्ब ३ करोड ४२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ६३ करोड रुपैयाँ सञ्चित छ। लघुवित्तको चुक्तापूँजी १५ प्रतिशत तथा जगेडाकोषमा करिब ५ प्रीतशतेको वृद्धि देखिएको छ ।

लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी २२ रुपैयाँ १९ पैसा, नेटवर्थ २५८ रुपैयाँ २३ पैसा तथा मूल्य आम्दानी अनुपात ५२.७३ गुणा छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ माघ २०७७, मंगलबार  ०८ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।