थप तीन पुनर्बीमा कम्पनी आउने तयारीमा, बीमा समिति अध्ययनमा जुट्यो

0
Shares

नेपालमा थप नयाँ पुनर्बीमा कम्पनी स्थापना हुने भएका छन्। नयाँ पुनर्बीमा कम्पनी स्थापनाका लागि बीमा क्षेत्रसँग आवद्ध व्यक्तिदेखि व्यवसायिक व्यक्तिहरुले कम्पनी दर्ताको प्रारम्भिक कार्य योजना तयार पार्ने काम गरेका छन् ।

पुनर्बीमा कम्पनी दर्ता प्रक्रियाको लागि विभिन्न संस्था तथा व्यक्तिहरुको पहलमा तीन नयाँ पुनर्बीमा कम्पनी आउने तयारी भईरहेको छ । अन्नपूर्ण, प्रुडेन्सियल र काठमाडौ रि इन्स्योरेन्स नामक पुनर्बीमा आउने तयारी भईरहेको हो ।

साकार ल फर्मले अन्नपूर्ण रिको प्रवन्धपत्र र नियमावलि तयार पारि बीमा समितिमा पुनर्बीमा व्यवसाय सञ्चालनका लागि निवेदन समेत दिईसकेको छ । प्रस्तावित काठमाडौ र प्रुडेन्सियल रिले भने लगानी जुटाउने कार्य गरिरहेका छन्।

हाल नेपालमा नेपाल सरकारको मुख्य स्वामित्वमा एउटा मात्रै पुनर्बीमा कम्पनी सञ्चालनमा छ । समितिले तीन नयाँ पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिए नेपालमा पुनर्बीमा कम्पनीको संख्या चार पुग्ने छ ।

थप पुनर्बीमा कम्पनी आउने तयारी सुरु भएपछि बीमा समितिले बजारको अध्ययन पश्चात मात्रै लाइसेन्स दिने भन्दै नयाँ पुनर्बीमा कम्पनीको सम्भाव्यता अध्ययनका लागि अध्ययन टोली समेत गठन गरेको छ। सो अध्ययन टोलीले बुझाएको प्रतिवेदनका आधारमा नयाँ कम्पनीहरुलाई लाइसेन्स दिने नदिने निर्णय समितिले लिने छ ।

काठमाडौं रि इन्स्योरेन्स

काठमाडौं रि इन्स्योरेन्स लिमिटेड नामसहित बीमा समितिका पूर्व अध्यक्ष देवेन्द्र प्रताप शाहको नेतृत्वले कम्पनी दर्ताको प्रक्रिया सुरु गरेको छ । कम्पनीको लगानी प्रस्तावको काम भईरहेको छ ।

बीमा समितिका पूर्व अध्यक्ष देवेन्द्र प्रताव शाह, महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओ रमेशकुमार भट्टराई, नेपाल पुनर्बिमा कम्पनीका पूर्व अध्यक्ष महेश गुरागाईं र आइएमई लाइफ इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टको नेतृत्वमा काठमाडौं रि इन्स्योरेन्स नामक नयाँ पूनर्बीमा कम्पनीको दर्ता प्रक्रिया अघि बढाईएको हो ।

काठमाडौं रि इन्स्योरेन्सको अधिकृत पूँजी २० अर्ब रुपैयाँ रहेको छ । जारी पूँजी १० अर्ब रुपैयाँ रहेको छ भने तत्काल चुक्ता पूँजी ७ अर्ब रहेको जनाईएको छ ।
जसमा ७० प्रतिशत (४० प्रतिशत संस्थागत र ३० प्रतिशत व्यक्तिगत) र सर्वसाधारणको ३० प्रतिशत कायम हुने बताइएको छ। ७० प्रतिशत संस्थापक मध्ये २० प्रतिशतसम्म विदेशी साझेदार बीचमा वा पुनर्बीमा कम्पनीलाई दिने गरी पत्राचार भइसकेको छ ।

२ जना संस्थागत, दुई जना व्यक्तिगत, दुई जना सर्वसाधारण र १ जना स्वतन्त्र गरी सात जना सदस्यीय सञ्चालक समिति रहने जनाइएको छ ।

अन्नपूर्ण रि इन्स्योरेन्स

साकार ल फर्मले अन्नपूर्ण रि इन्स्योरेन्सको दर्ता प्रक्रिया अगाडि बढाएको हो । सारकार ल फर्मका सञ्चालक भानुभक्त पोखरेलका अनुसार कम्पनीको दर्ता प्रक्रियाका लागि प्रवन्धपत्र र नियमावलि तयार पारिएको छ ।

साकार ल फर्मले अन्नपूर्ण रि इन्स्योरेन्स कम्पनीको लागि प्रवन्धपत्र र नियमावलि तयार पारि समितिमा निवेदन दिएको छ ।

बीमा समितिमा पुनर्बीमा व्यवसायका लागि निवेदन दिईएको र समितिबाट सैद्धान्तिक सहमति पाएपछि कम्पनी रजिस्ट्रार कार्यालयमा कम्पनी दर्ता गरी थप प्रक्रिया अगाडि बढ्ने उनको भनाई छ ।

अन्नपूर्ण रिको चुक्ता पूँजी १० अर्ब रुपैयाँको रहेको छ । जसमा ७५ प्रतिशत संस्थाप र २५ प्रतिशत सर्वसाधारणको लगानी रहने छ ।

प्रुडेन्सियल रि इन्स्योरेन्स

यस्तै एनआरएनएका पूर्व अध्यक्ष शेष घले लगायतको टिमको लगानीमा अर्को प्रुडेन्सियल रि इन्स्योरेन्स कम्पनी संचालनमा ल्याउने तयारी भईरहेको छ । प्रुडेन्सियल रि कम्पनीमा घलेलगायत अन्य एनआरएनहरुको समेत लगानी रहने छ।

प्रुडेन्सियल रि इन्स्योरेन्समा संस्थापक शेयरधनीको रुपमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले १५ करोड रुपैयाँ लगानी गर्ने निर्णय समेत गरेको छ ।कम्पनीको माघ ८ गते बसेको सञ्चालक समितिको बैठकले प्रस्तावित प्रुडेन्सियल रि इन्स्योरेन्स कम्पनीमा संस्थापक शेयरधनी भई १५ करोड लगानी गर्ने निर्णय गरेको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।