शेयर कारोबारमा प्रि-ओपनिङ सेसनको मूल्य परिवर्तन सीमा २ प्रतिशत र 'टिक साइज' दश पैसा

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
३श्रावण, २०७८, आईतवार / Jul 18, 2021 09:33:am

नेपाल स्टक एक्स्चेञ्जले धितोपत्र कारोबार सञ्चालन विनियमावली संशोधन गर्दै शेयर कारोबारमा नयाँ व्यवस्था गरेको छ ।

यसअनुसार आजदेखि प्रारम्भिक कारोबार सत्र (प्रिओपनिङ) को मूल्य सीमा २ प्रतिशतमा झरेको छ ।

यसैगरी एक रुपैयाँ रहँदै आएको धितोपत्रको काराबारको न्यूनतम मूल्य परिवर्तन सीमा ‘टिक साइज’ दश पैसामा झरेको छ ।

संशोधित व्यवस्था आइतबारदेखिको कारोबारमा कार्यान्वयन भई लागू हुने नेप्सेले जनाएको छ । 

नेप्सेका अनुसार आज (साउन ३ गते आइतबार) देखि संशोधित विनियमावली लागू भई कार्यान्वयनमा आएको हो । नेप्से सञ्चालक समितिको असार ३० गतको निर्ण बमोजिम धितोपत्र कारोबार संचालन (दोस्रो संशोधन) विनियमावली, २०७८ लागू भएको हो ।

नेपाल धितोपत्र बोर्डले प्रारम्भिक कारोवार सत्र (प्रि-ओपनिङ) को मूल्य सीमा र धितोपत्रको कारोवारमा न्यूनतम मूल्य परिवर्तन सीमामा नयाँ व्यवस्था गर्न निर्देशन दिएसँगै नेप्सेले धितोपत्र कारोबार संचालन नियमावली र मुल विनियमावलीको विनियम १३ मा संसोधन गरी उक्त व्यवस्था कार्यान्यनमा ल्याउन लागिएको नेप्सेले जनाएको छ ।

संशोधित व्यवस्था अनुरुप दोस्रोे बजारको प्रारम्भिक कारोबार सत्र अर्थात प्रि-ओपनिङ सेसनमा मूल्य परिवर्तन सीमा २ प्रतिशत कायम गरिएकोे छ । यस अघि यस्तो सीमा ५ प्रतिशत रहेको थियो ।

यसैगरी दोस्रो बजारमा धितोपत्रको कारोबार हुने न्यूनतम मूल्य परिवर्तन सीमालाई संशोधन गरिएको छ । हाल उक्त मूल्य परिवर्तन सीमा १ रुपैयाँ रहेकोमा सोलाई घटाई १० पैसा वा १० पैसाले भाग जाने मूल्यमा आदेश प्रविष्ट गर्न सकिने व्यवस्था गरेको नेप्सेले जनाएको छ ।

प्रि-ओपनिङ सेसन मार्फत कम्पनीहरुको मूल्यमा अस्वाभिक घटबढ गराएर लगानीकर्तालाई प्यानिक बनाउने कोशिस गरिएको भन्ने आवाजहरु उठेपछि बोर्डले नयाँ व्यवस्था गर्न निर्देशन दिएको थियो । यो सेसनमा १० कित्ता शेयरको किनबेचबाट कम्पनीहरुको मूल्य पाँच प्रतिशतसम्म घटबढ हुने गरेको थियो । यसका आधारमा नियमित कारोबार सेसनमा कारोबार हुने गरेको छ ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments