साल्ट ट्रेडिङको लाभांश घट्यो, कति बाँड्दैछ ?

0
Shares

साल्ट ट्रेडिङ कर्पोरेशन (STC) को लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा दश प्रतिशतले घटेको छ ।

अघिल्लो आव २०७५/७६ मा चुक्ता पूँजीको ३५ प्रतिशत लाभांश वितरण गरेको कर्पोरेशनले आव २०७६/७७ बाट शेयरधनीलाई चुक्ता पूँजीको २५ प्रतिशत मात्र लाभांश वितरण गर्ने भएको हो ।

यसअघि हरेक वर्ष लाभांश वृद्धि हुँदै गइरहेकोमा अहिले भने कम्पनीले घटाएर लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको असोज १४ गते बिहीबार बसेको सञ्चालक समितिको १०१० औं बैठकले चुक्ता पूँजीको २० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरि कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैठकले कार्तिक १६ गते भर्चुअल माध्यमबाट साधारण सभा गर्ने निर्णय समेत गरेको छ । कम्पनीको लाभांश साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्तामा वितरण हुनेछ ।

त्यस्तै सभामा आव २०७६।७७ को वार्षिक प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान सहितको वित्तीय विवरण पारित गर्ने, लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुनेछन् । त्यस्तै ऋण सुविधा लिने स्वीकृति उपर पनि छलफल गर्ने प्रस्ताव सभामा राखिएको छ ।

लाभांश  वितरण र साधार णसभा प्रयोजनको लागि कर्पोरेशनले कार्तिक २ गतेदेखि १६ गतेसम्म शेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने मिति तोकेको छ । यस अनुसार कार्तिक १ गते सोमबारसम्म कायम शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन र सभामा सहभागिता जनाउन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।