चालु आर्थिक वर्षको साढे ५ महिनामा २० निर्जीवन बीमा कम्पनीले ६० करोड रुपैयाँ बढीको बाली, पशुपन्छी तथा कृषि बीमा व्यवसाय गरेका छन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पुस महिनाको १५ गतेसम्म निर्जीवन बीमा कम्पनीहरुले ५९ करोड ९७ लाख ९५ हजार ७४१ रुपैयाँको व्यवसाय गरेका हुन् । कम्पनीहरुले ६६ हजार ९१९ बीमालेख जारी गरी सो बराबरको बीमाशुल्क संकलन गरेको समितिको तथ्याङ्क छ ।
चालु आवको साढे पाँच महिनामा सरकारले बाली तथा पशुपन्छी बीमाका लागि ४४ करोड ९८ लाख ४६ रुपैयाँ अनुदान रकम वितरण गरेको छ । सरकारले कृषि बीमाका लागि ७५ प्रतिशत अनुदानको व्यवस्था गरेको छ ।
यस अवधिमा बीमा कम्पनीहरुले २ हजार ४९० दाबीवापत ११ करोड ९८ लाख ३१ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छन् ।
१३ कम्पनी हजार बढी बीमालेख जारी गर्न सफल
एनएलजी इन्स्यारेन्सले यस अवधिमा सबैभन्दा बढी करिब १५ हजार बीमालेख जारी गर्न सफल भएको छ । यस अवधिमा लुम्बिनी जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र अजोडले ७ हजार धेरै तथा कुल १३ कम्पनीले १ हजारभन्दा बढी बीमालेख जारी गरेका छन् ।
साढे पाँच महिनामा १४ हजार ९४७ वटा बीमालेख जारी गरेको एनएलजी इन्स्योरेन्सले कुल १० करोड ६६ लाख ५६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
लुम्बिनी जनरलले ८ हजार ३९०, प्रुडेन्सियल इन्स्योरेन्समा ८ हजार ११५, अजोड इन्स्योरेन्समा ७ हजार ५३४, यूनाईटेड इन्स्यारेन्समा ४ हजार ९५३ बीमालेख कायम भएका छन् ।

यसैगरी, शिखर इन्स्योरेन्सले ४ हजार २२२, आईएमई जनरलले ३ हजार ६७७ र हिमालयन जनरलले २ हजार ८५५ बीमालेख जारी गरेका छन् ।
यस अवधिमा प्रभु इन्स्यारेन्सले सबैभन्दा थोरै ६२ वटा मात्र बीमालेख जारी गरेको छ । ६२ बीमालेख जारी गरेको इन्स्योरेन्सले १२ लाख १८ हजार रुपैयाँ बराबरको बीमाशुल्क बाली, पशुपन्छी तथा माछा बीमा व्यवसायबाट संकलन गरेको छ ।
आर्थिक वर्ष २०७६/७७ मा निर्जीवन बीमा कम्पनीहरुले बाली तथा कृषि बीमा व्यवसाय १ अर्ब १८ करोड १६ लाख ९९ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । गत आवमा निर्जीबन बीमा कम्पनीहरुले १२ हजार ४३८ दाबी वापत परेको ६२ करोड २० लाख ३६ हजार रुपैयाँ बराबरको भुक्तानी गरेका थिए ।
बाली, पशुपन्छी तथा कृषि बीमा अनुदानका लागि सरकारले ८८ करोड ६२ लाख ७४ हजार रुपैयाँ अनुदान वितरण गरेको थियो । बाली, पशुपन्छी तथा कृषि बीमाको दायरा बढाउन सरकारले कुल बीमाङ्क रकमको ७५ प्रतिशत अनुदान वितरण गर्ने नीति लिएको छ । सोही अनुसार उक्त रकम गत आवमा उपलब्ध गराएको हो।
निर्जीवन बीमा कम्पनीहरूले एक आर्थिक वर्षमा जारी गर्ने कुल बीमालेख संख्याको कम्तिमा ५ प्रतिशत कृषि तथा पशुपन्छी बीमालेख जारी गर्नुपर्ने व्यवस्था रहेको छ । नेपालमा कृषि क्षेत्रलाई व्यवसायिक र सुरक्षित बनाउन कृषि मन्त्रालयको नेतृत्वमा बीमा समितिले कृषि तथा पशुपन्छी बीमा पोलिसी सञ्चालनमा ल्याएको हो । विसं २०६९ साल माघ १ गते औपचारिक रूपमा कृषि तथा पशुपन्छी बीमाको सुरूवात भएको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया