लाभांश अनुमोदन र मर्जर तथा एक्वीजिशनलाई अगाडि बढाउने अख्तियारी दिँदै सकियो नबिलको साधारण सभा

0
Shares


वाणिज्य बैंकमध्ये गत आवको नाफाबाट सबैभन्दा धेरै प्रतिफल वितरण गरेको नबिल बैंकले लाभांश अनुमोदनसँगै सञ्चालक समितिलाई मर्जर तथा प्राप्ती कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिँदै बुधबार साधारण सभा सम्पन्न गरेको छ ।

यसअघि बैंक आफैँले बोनस शेयर वितरण गरी पूँजी वृद्धि गरेर अन्य बैंकहरुसँग प्रतिस्पर्धा गर्दै आएको बैंकले पहिलो पटक साधारण सभाबाट अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्वीजिशन गर्ने प्रस्ताव पारित गरेको हो ।

केन्द्रीय कार्यालय, दरबारमार्ग, काठमाडौँमा बिहान १० बजेदेखि भर्चुअल माध्यमबाट सम्पन्न भएको साधारण सभाबाट बैंकले कोरोना महामारीका बीच पनि आव २०७६।७७ बाट अन्य बैंकहरुलेभन्दा धेरै कुल ३५ प्रतिशत लाभांश वितरण गरेको छ ।

सभाले गत आर्थिक वर्षको नाफाबाट बैंकका शेयरधनीहरूलाई ३३.५ प्रतिशत बोनस शेयर र १.७६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ ।

यसैगरी अन्य उपयुक्त बैंक वित्तीय संस्थासँग गाभ्ने वा गाभिने (मर्जर/प्राप्ती) गर्ने वा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्न मूल्याङ्कनकर्ता नियुक्त गर्ने तथा आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन तथा निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।

सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट अनन्त प्रसाद पौडेल र प्रविन टिबडेवालालाई सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्नेगरी सञ्चालक निर्वाचित गरेको छ ।

सभाले बैंकको अधिकृत पूँजी १४ अर्ब, चुक्ता पूँजी १३ अर्ब ४८ करोड १ लाख ५९ हजार पुर्याउने, सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६।७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरेको छ । सभाबाट आर्थिक वर्ष २०७६।७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू पनि पारित भएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १५ गते बुधबार शेयरधनी दर्ता खारेजी (बुकक्लोज) गरेको थियो । यसअनुसार पुस  १४ मंगलबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश पाउनेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ पुस २०७७, बुधबार  १५ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।