मुक्तिनाथ विकास बैंक र आइसिएफसि फाइनान्सको नगद लाभांश शेयरधनीको बैंक खातामा

0
Shares

मुक्तिनाथ विकास बैंक र आइसिएफसि फाइनान्सले नगद लाभांश शेयरधनीको बैंक खातामा वितरण गरेका छन् । यी दुई कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरेका हुन् ।

मुक्तिनाथ विकास बैंकले गत पुस २५ गते सम्पन्न १४ औँ वार्षिक साधारण सभाले पारित गरेको बोनस तथा नगद लाभांशमा लाग्ने करसहित ४.२५७४ प्रतिशत नगद लाभांश शेयरधनीहरुको खातामा वितरण गरेको हो ।

उक्त लाभांश बैंकले पुस १२ गतेसम्म हितग्राही खातामा बैंक खाता अध्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा सो लाभांश जम्मा गरेको हो । सो पश्चात बैंक खाता अध्यावधिक गराएका शेयरधनीहरुको नगद लाभांश पनि बैंक खातामा नै जम्मा गरिने बैंकले बताएको छ ।

हालसम्म भौतिक शेयर धारण गरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गराई बैंक खाता नम्बर सहितको विवरण अध्यावधिक गर्न बैंकले अनुरोध गरेको छ।

यसका साथै पुस १२ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्दा बैंक खाताको विवरण हुबहु नभई नगद लाभांश प्राप्त नगरेका शेयरधनीहरुको विवरण शेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटलको वेबसाइटमा राखिएको बैंकले बताएको छ ।

यस्तै, आइसिएफसि फाइनान्स लिमिटेको पुस २९ गते सम्पन्न १७ औं वार्षिक साधारणसभाले पारित गरेको ४.५० प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा वितरण गरेको छ । कम्पनीले गत पुस १७ गतेसम्म बैंक खाता अद्यावधिक गराउँने शेयरधनीहरुको बैंक खातामा उक्त नगद लाभांश पुस २९ गतेदेखि नै जम्मा गरिदिएको हो ।

पुस १७ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्दा बैंक खाताको विवरण हुवहु नमिली नगद लाभांश प्राप्त नभएका शेयरधनीहरुको विवरण वेवसाइटमा राखिदिएकोले सच्याउँन कम्पनीले अनुरोध गरेको छ । यसरी विवरण फरक परी लाभांश रकम भुक्तानी हुन नसकी फिर्ता भई पुनः प्रशोधनको लागि प्रति इकाई धनी ५ रुपैयाँ लिइने समेत कम्पनीले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ माघ २०७७, आइतबार  ११ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।