जनरल इन्स्योरेन्सको खुद बीमाशुल्क घट्दा पनि कसरी बढ्यो नाफा ?

0
Shares

जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद बीमाशुल्क घटेपनि नाफा बढेको वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीको आयको मुख्य स्रोत खुद बीमाशुल्क संकलन घटेपनि कम्पनीको नाफामा भने आकर्षक बढोत्तरी भएको हो ।

यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी रकम, अभिकर्ता कमिशन, पूनर्बीमा कमिशन खर्च, सेवा शुल्क लगायतका शीर्षकमा खर्च कम भएका कारण बीमाशुल्क संकलन घट्दा पनि पनि खुद नाफा बढेको हो ।

चालु आवको अर्धवार्षिक अवधिमा जनरलको खुद बीमाशुल्क ९.८८ प्रतिशतले घटेपनि आफ्नो खुद नाफा भने गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १५९.३६ प्रतिशतले बढोत्तरी गरेको हो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५९.३६ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यता पुस मसान्तसम्ममा कम्पनीले ११ करोड ९७ लाख रुपैयाँ मात्र खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले १३ करोड २८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा १ करोड ३१ लाख रुपैयाँले घटेको हो ।

पुस मसान्तसमा कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट १ करोड ३ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन समीक्षा अवधिको तुलनामा १०.७८ प्रतिशतले बढी हो । यस्तै, कम्पनीले पूनर्बीमा कमिशन वापत ४ करोड ९५ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले यस शीर्षकबाट ४ करोड २५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

यस अवधिमा जनरल इन्स्योरेन्सले अभिकर्ता कमिशन रकम घटाएको छ । कम्पनीले समीक्षा अवधिको तुलनामा १६.१९ प्रतिशतले अभिकर्ता कमिशन घटाएर यस शीर्षकमा ६४ लाख २१ हजार रुपैयाँ मात्र खर्च गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले अभिकर्ता कमिशन वापत ७६ लाख ६१ हजार रुपैयाँ खर्च गरेको थियो ।

कम्पनीले २ करोड ७६ लाख १२ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १४.३१ प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीको पूनर्बीमा कमिशन खर्च र सेवा शुल्क शीर्षकमा समेत कम रकम खर्च भएको छ ।

पुस मसान्तसम्ममा कम्पनीले पूनर्बीमा कमिशन खर्चको शीर्षकमा ११ लाख र सेवा शुल्क शिर्षकमा ८ हजार रुपैयाँ खर्च भएको छ । गत आवको यसै अवधिमा पूनर्बीमा कमिशन खर्चको शीर्षकमा १९ हजार र सेवा शुल्क शीर्षकमा १३ लाख रुपैयाँ खर्च भएको थियो ।

चुक्ता पूँजी एक अर्ब रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ७.२८ रुपैयाँ छ । जगेडा कोषमा ६ करोड ६२ लाख रुपैयाँ सञ्चित रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ११४.८४ रुपैयाँ छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ माघ २०७७, बिहिबार  १२ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।