.png)
बैंक अफ काठमाण्डू (BOKL) को फागुन १६ गते सम्पन्न १७९ औं सञ्चालक समितिको बैठकले आगामी चैत ३ गते मंगलबार विशेष साधारण सभा आह्वान गरेको छ ।
बैंकले सर्वसाधारण शेयरधनी समूहको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने विशेष प्रस्ताव राखेर नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान १० बजे विशेष साधारण सभा बोलाएको हो ।
कोरोना भाइरस संक्रमणका कारण भिडियो कन्फ्रेन्स मार्फत सभा आयोजना हुने बैंकले जनाएको छ । विशेष साधारण सभामा सहभागी हुन शेयरधनीहरुलाई जुम आईडी र पासकोड उपलब्ध गराउने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
सभामा सञ्चालक निर्वाचनका लागि गरिने विशेष प्रस्तावहरुको संशोधनमा नेपाल राष्ट्र बैंक वा अन्य नियमन निकायहरुबाट कुनै थपघट वा संशोधन गर्न निर्देशन भएमा आवश्यक संशोधन तथा परिमार्जन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने निर्णय गरी पारित गर्ने एजेण्डा पनि सभामा राखिएको छ ।
विशेष साधारण सभाका लागि बैंकले फागुन २३ गते आइतबारदेखि बुकक्लोज गर्ने मिति तोकेको छ । यसअनुसार फागुन २० गते बिहीबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहने शेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व जनाउन पाउनेछन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया