सिंगटी हाइड्रो इनर्जी कम्पनीको प्राथमिक शेयर (आईपीओ) आज दिउँसो साढे ३ बजे बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट लिमिटेडको कार्यालय त्रिप्रेश्वरमा आईपीओ बाँडफाँड हुन लागेको हो ।
सिंगटी हाइड्रोले गत माघ ४ गतेदेखि फागुन ३ गते सोमबारसम्म आयोजना प्रभावित दोलखाको कालिन्चोक र बिगु गाउँपालिकाका स्थानीयहरूका लागि शेयर जारी गरेको थियो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । सोही शेयर आज बाँडफाँड गरिन लागिएको हो ।
स्थानीय बासिन्दाको शेयरमा १९ हजार १९८ जना आवेदकबाट १७ लाख ४५ हजार ३५३ कित्ताको लागि आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ । जुन स्थानीयबाट माग गरेको (१४ लाख ५० हजार) कित्ताको तुलनामा २०.३७ प्रतिशत बढी हो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि शेयर बाँडफाँड गरेसँगै दोश्रो चरणमा सर्वसाधारणका लागि २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता शेयर निष्काशन तथा बिक्री खुल्ला गर्नेछ । आईपीओपछि कम्पनीमा संस्थापक र सर्वसाधारणको पूँजी संरचना ७०ः३० हुनेछ ।
धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४३ करोड ५० लाख रूपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधारण शेयर (आईपीओ) जारी गर्नका पुस २१ गते मंगलबार अनुमति दिएको थियो ।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस (आइएस) रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।
सिंगटी हाइड्रोपावरले दोलखाको कालिञ्चोक गाउँपालिका–२ बाबरे र विगू–५ चिलंखामा पर्ने सोरुङ खोलामा बाँध बाँधेर २५ मेगावट क्षमताको सिंगटी हाइड्रोपावर आयोजना निमार्ण गरिरहेको छ । आयोजनामा लाग्ने कुुल लगानी चार अर्ब ३३ करोडमध्ये आयोजनामा सिभिल बैंकको नेतृत्वमा १० वटा वाणिज्य बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया