शेयर बजारको क्रेज फर्किएपछि बेपत्ता फ्ल्योर हिमालयन ५०० प्रतिशत पूँजी बढाएर ‘कमब्याक’ हुँदै

0
Shares

शेयर बजारको चर्चा परिचर्चा तथा पछिल्लो समय अंकित मूल्यभन्दा तल शेयरमूल्य झरेका कम्पनीहरुको शेयरको भाउ समेत उकालो लाग्न थालेपछि करिब दशक अघि शेयर बजारबाट बेपत्ता भएको एक कम्पनी शेयर बजारमा फर्कने तयारी गरेको छ।

करिब डेढ दशक वर्षअघि सर्वसाधारणमा प्रतिकित्ता ७५ रुपैयाँ अंकित दरमा जारी पूँजीको दश प्रतिशत शेयर सर्वसाधारणमा जारी गरेको फ्ल्योर हिमालयन लिमिटेड पुनः ५०० प्रतिशत हकप्रदबाट पूँजी वृद्धि गर्ने लक्ष्यका साथ शेयर बजारमा फर्कने तरखर गरेको हो ।

नेप्सेमा उत्पादनमुलक समुहमा सूचीकृत भएर केही वर्ष कारोबार भएपछि एकाएक गायब भएको थियो । शेयर बजारमा बेपत्ता भएको फ्ल्योर हिमालयन लिमिटेडले आगामी चैत ६ गते आह्वान गरेको २५ औं वार्षिक साधारण सभाबाट अघिल्लो साधारण सभाबाट पारित गरेको १ः५ (५०० प्रतिशत) हकप्रद शेयर जारी गर्ने प्रस्ताव पुनः पारित गर्न लागेको हो । नेप्सेमा कम्पनीको २ लाख ६२ हजार १०२ कित्ता शेयर सूचीकृत रहेकोे छ ।

 

डेढ दशकअघि थोरै चुक्ता पूँजी रहेकाले आगामी दिनमा कम्पनी सञ्चालनका लागि पनि पूँजी वृद्धि आवश्यक रहेकाले फ्ल्योर हिमालय लिमिटेडले हकप्रदको बाटो रोजेको हो । हकप्रद निष्काशनसँग कार्य गर्न र सबै हकप्रद शेयर बिक्री नभएको खण्डमा सञ्चालक समितिको निर्णय बमोजिम बिक्री गर्न समेत पूर्ण अख्तियारी समेत साधारण सभाबाट दिने भएको छ ।

कम्पनीले शेयर बजारमा पुनः कारोबारमा आउने मात्र होइन सञ्चालक समितिको निर्णय अनुसार लक्ष्मी बैंकबाट ८ करोड रुपैयाँ ऋण लिनका लागि कम्पनीका प्रबन्ध सञ्चालक अजय बहादूर प्रधानाङ्गको नाममा रहेको कामपा वडा नम्बर २५ मा रहेको कित्ता नम्बर ३४० को ०-२-०-२ क्षेत्रफलको जग्गा धितो दिने प्रस्ताव समेत आगामी साधारण सभाबाट विशेष प्रस्तावको रुपमा अनुमोदन गराउने भएको छ ।

फ्ल्योर हिमालयन लिमिटेडले विभिन्न पशुका लागि आयुर्वेदिक मेडिसिनहरु (डर्मेक्स ओइन्टमेन्ट, एकेएफ सिरप, कफनिल सिरप, फ्ल्योर अश्वागन्धा क्याप्सुल, माना न्यूट्रेसन, मास्टि केयर) लगायतका प्रोडक्टहरु उत्पादन गर्दै आएको छ ।

शेयर बजारमा पुनः नियमित कारोबारमा आउन कम्पनीले दुई साताअघि नेप्सेमा निवेदन दिएको हो । नोटबजारसँगको कुराकानीमा फ्ल्योर हिमालयका राजीव खत्रीले नेप्सेमा पुनः सूचीकृत भई नियमित कारोबारका लागि यसअघिका बाँकी सूचीकरण लगायतका सबै शुल्क समेत एक साताअघि नै भुक्तानी गरिसकेको बताए ।

नेप्सेले पनि शेयर बजारमा फर्कन कम्पनीले तिर्नुपर्ने रकम भुक्तानी गरेर नियमित कारोबारमा आउने प्रकृयामा अगाडि बढाएको बताएको छ । नोटबजार डटकमसँगको कुराकानीमा नेप्सेका ती प्रतिनिधिले भनेः- ‘कम्पनी ८-१० वर्षअघिदेखि नियमित सम्पर्कमा नरहेकाले हामीले कम्पनीको पछिल्लो प्रबन्धपत्र तथा नियमावलीमा भएको संसोधन सहित शेयरधनीहरुको विवरण लगायतका आवश्यक सबै कागजात उपलब्ध गराउन पत्राचार गरेका छौं ।’ यस सम्बन्धमा कम्पनीले कागजात उपलब्ध गराएपछि बाँकी काम अगाडि बढ्ने ति अधिकारीले बताए ।

फ्ल्योर हिमालयलाई नेप्सेले डि लिस्टेड गरिनसकेको बताउँदै ती अधिकारीले सूचीकृत शुल्क नबुझाउँदा कारोबार निलम्बनका कारण नियमित कारोबारमा नरहेको जानकारी दिए । शुल्क बुझाएसँगै नेप्सेले माग गरेको कागजात उपलब्ध गराएपछि कम्पनीको शेयर कारोबार निलम्बनको फुकुवा गर्ने प्रकृया अगाडि बढ्ने उनले बताए ।

सरकारले बजेट मार्फत नै कर छुट सहित वास्तविक क्षेत्रका कम्पनीहरुलाई पूँजीबजारमा भित्र्याएर बैंक तथा वित्तीय संस्थाहरुको हिस्सा घटाउन लागेको अवस्थामा नेप्सेमा सूचीकृत भई करिब दशक अघिदेखि लगानीकर्ताको रकम डुबाएर बेपत्ता कम्पनी शेयर बजारमा पुनः कमब्याक हुनु सम्बन्धीत कम्पनीका लगानीकर्ताका लागि पनि खुशीकोे कुरा हो ।

आशा गरौं शेयर बजारमा वेपत्ता भएका दर्जन हाराहारीका उत्पादनमुलक कम्पनीहरु पनि पुनः नेप्सेमा नियमित कारोबारमा हुन आउन् र लगानीकर्ताहरुको डुबेको लगानीबाट नाफा सहित फिर्ता होस् शुभकामना !!

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १८ फाल्गुन २०७७, मंगलबार  १४ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।