
धितोपत्र बजारको पछिल्लो उतार चढाव विगतका भन्दा फरक प्रवृत्तिको देखिएको छ । विगतमा नेप्से सूचकले बुलका लागि ५ वर्ष र बियरका लागि ३ वर्ष अवधि लिने गरेपनि पछिल्लो समयमा त्यस्तो नदेखिएको हो ।
दुई दशकको अवधिमा नेप्सेले ४ बुल र ३ बियर पोइन्ट बनाएको छ । यो अवधिमा बियर पछिको बुल र नयाँ उचाइका लागि ५ वर्ष अवधि लगाएको छ । त्यसैगरी बुल पछिको वियर तथा न्यून बिन्दु तय गर्नका लागि ३ वर्ष अवधि लाग्ने गरेको देखिन्छ । तर, पछिल्लो बुल र बियरमा विगतको चक्रको समय अवधिले काम नगरेको देखिन्छ । पछिल्लो बियरपछि बुल तय गरी नयाँ उचाई निर्धारण गर्न नेप्सेले २ वर्षको अवधि खर्चेको छ । २०७५ फागुन ६ गते ११०२.५१ अंकमा रहेको नेप्से २०७७ फागुन ९ गते हालसम्मकै उच्च २६४०.३५ अंकमा पुगेको छ ।
नेप्सेको घटवढ हुने समय चक्रलाई हेर्दा २०५७ सालमा २०५७ मंसिर ८ गते उक्त समयको उच्च ५४५.८२ अंकमा रहेको थियो । त्यसपछि घट्न थालेको नेप्से २०६० चैत १९ गते बुलपछिको न्यून बिन्दु १९५.१४ कायम भएको थियो । सो न्यून बिन्दुवाट नेप्से सूचक २०६५ भदौ १५ गते उच्च अंकमा ११७५ पुगेको थियो । त्यसपछि बजार सूचकले २०६८ असार १ गते न्यून बिन्दु २९२.३१ कायम गरेकोमा २०७३ साउन १२ गते उच्च अंक १८८१ पुगेको थियो । अघिल्लो बुल पछि नेप्से घटेर २०७५ फागुन ६ गते न्यून बिन्दु ११०२.५१ अंकमा झरेको थियो । त्यसपछि सुधारको गतिमा देखिएको नेप्से सूचक २०७७ फागुन ९ गते हालसम्मकै उच्च २६४०.३५ अंकमा पुगेको हो ।
दुई वर्षको अवधिमा हालसम्मकै उच्च बिन्दु कायम गरेको नेप्से सूचक पछिल्लो ७ कारोबार दिनमा मात्रै १८५.०९ अंकले घटेको छ । गत फागुन ९ मा हालसम्मको उच्च बिन्दु नेप्से पुगेपछि पछिल्ला ७ करोबार दिनमा २ दिन बढेको छ भने बाँकी ५ दिन नेप्से सूचक उच्च अंकले घटेको छ । यो अवधिमा नेप्से सूचक ७ प्रतिशतले घटेको हो ।
नेप्सेमा आएका पछिल्ला २ बुललाई प्रकृतिले पनि साथ दिएको हुनाले विगतको जस्तो चक्र देखिँदैन । नेप्से परिसूचकले १८८१ अंकको उच्च बिन्दु कायम गर्दा गोरखा भूकम्पले साथ दिएको थियो भने अहिलेको २६४० को उचाईमा पुग्नका लागि विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणका कारण लगानीका अन्य क्षेत्रमा आएको संकुचनका कारणले साथ दिएको छ । भूकम्पले गर्दा आर्थिक गतिविधि अस्तव्यस्त हुँदा धितोपत्र बजार निरन्तर नयाँ उचाई बनाउन तर्फ लागेको थियो भने कोरोना महामारीमा पनि आर्थिक गतिविधि ठप्प हुँदा पनि शेयर बजार मात्र निरन्तर सुधारको गतिमा देखियो ।

कोरोना भाइरसका कारण अर्थतन्त्रको उत्पादन र वितरणको संयन्त्र नै बिग्रियो । सो अवधिमा सर्वसाधारणले पनि अतिआवश्यकीय वस्तु मात्र खरीद गरे । त्यसले गर्दा बैंक वित्तीय संस्थामा निक्षेप थुप्रियो । बैंकिङ प्रणालीमा निक्षेप थुप्रिएपछि ब्याजदरमा उच्च गिरावट आयो । बैंकहरुले कर्जा लगानी गर्न सकेनन्, त्यसले गर्दा बैंकहरुले छोटो अवधिको कर्जामा विभिन्न किसीमका योजनाहरु सञ्चालन गर्न थाले । यो अवधिमा बैंकहरुले शेयर कर्जा प्रवाह पनि उच्च बनाए । बैंकहरुले कर्जा दिएर सर्वसाधारणलाई बजारमा लगानी गर्न उत्साहित मात्र बनाएनन् बैंक आफँै पनि टे«जरी म्यानेजमेन्टको शीर्षकमा शेयर बजारमा उपस्थिति जनाउन थाले । त्यसले गर्दा बजार निरन्तर सुधारको बाटोमा गयो ।
शेयर बजारमा आएको निरन्तर सुधार र बचत तथा निक्षेपको ब्याजदरमा आएको गिरावटले धितोपत्र बजार अकर्षणको केन्द्र बन्यो । बैंकमा निक्षेपमा राखेका सर्वसाधारणले समेत निक्षेप झिकेर शेयर बजारमा लगानी गर्न थाले । कोरोनाका कारण आर्थिक क्षेत्र ठप्प भएपनि शेयर बजार एक मात्र लगानीका लागि उपयुक्त क्षेत्रको रुपमा रह्यो । फलस्वरुप सबै क्षेत्रको लगानी शेयर बजारमा नै केन्द्रित भयो । त्यसले पनि बजारलाई थप उचाइमा लैजान मद्दत ग¥र्यो ।
तर, पछिल्लो समयमा कोरोनाका कारण थलिएको आर्थिक गतिविधि पुर्ववत रुपमा फर्कने क्रममा रहेको छ । त्यसले गर्दा आर्थिक गतिविधि सुधार आउने तथा आयात बढेको अवस्था छ । आर्थिक गतिविधिमा सुधार आएसँगै बैंक तथा वित्तीय संस्थामा कर्जाको माग पनि बढ्न थालेको छ । फागुन महिनाको १४ दिनमा मात्र बैंकहरुले ४० अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । बैंकहरुमा कर्जाको माग आउने तथा अधिक तरलता संकुचन उन्मूख भएपछि ब्याजदर बढ्ने संकेत देखिएको छ ।
बैंक वित्तीय संस्थाको ब्याजदर बढ्ने तथा अनुत्पादक क्षेत्रको लगानी अप्रत्यक्ष रुपमा नियन्त्रण गर्ने संकेत पाएपछि पछिल्ला दिनहरुमा शेयर बजार उच्च अंकले घटेको हो । पछिल्लो समयमा उद्योग, ब्यापार क्षेत्रको गतिविधि बढेसँगै बैंकहरुले शेयर तथा घरजग्गा क्षेत्रमा हुने लगानी नियन्त्रणका लागि कर्जा दिनका लागि छनोट गर्न थालेको देखिन्छ । त्यसका साथै निक्षेपको ब्याजदर पनि आन्तरिक रुपमा बढाउन थालेपछि त्यसको असर शेयर बजारमा देखिएको हो ।
पछिल्ला दिनहरुमा देखिएको शेयर बजारको गिरावट तुलनात्मक रुपमा अस्वभाविक गतिको देखिन्छ । बजारको बढाई र घटाइको गतिमा पनि धेरै फरक रहेको छ । कोरोनाका कारण व्यापार तथा व्यवसायीक क्षेत्र समेत शेयर बजारमा आएको थियो । पछिल्लो समयमा त्यो समुह शेयर बजारबाट बाहिरिन खोजेपछि पनि बजारमा उच्च अंकको गिरावट आएको हो । बजारको सुधारमा कोरोना सहयोगी बनेको थियो ।
आर्थिक गतिविधि बढेसँगै उद्योगी व्यापारी र बैंकहरुले शेयर बजारबाट बाहिरिन खोजेपछि बजारले नियमित समय चक्र पूरा नगरी घट्दो लय समाएको छ । त्यति मात्र नभई ब्याजदर बढ्ने विषयमा शेयर बजारका लागि नकारात्मक हो । बैंकिङ प्रणालीको ब्याजदर र शेयर बजारको सकारात्मक सम्बन्ध रहने गर्दछ । ब्याजदर बढेको खण्डमा शेयर बजार घट्ने र ब्याजदर घटेको अवस्थामा शेयर बजार बढ्ने हुन्छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया