मोवाइल तथा इन्टरनेट बैंकिङको कारोबार सीमा शतप्रतिशतले बढ्यो

0
Shares

नेपाल राष्ट्र बैंकले मोवाइल तथा इन्टरनेटमा आधारित बैंकिङ कारोबारको सीमा दोब्बर बनाएको छ । केन्द्रीय बैंकले प्रतिदिन मोवाइल बैंकिङको कारोबार सीमा २ लाख र इन्टरनेट मार्फत २० लाख सम्म भूक्तान गर्न पाउने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकका अनुसार मोवाइल तथा इन्टरनेटद्धारा गरिने कारोबारको अधिकतम सीमा प्रतिदिन २ लाख देखि २० लाख रुपैयाँ सम्म कायम गरिएको हो । मोवाइल बैंकिङ मार्फत दैनिक २ लाख सम्मको कारोबार गर्न सकिने व्यवस्था गरेको छ । यसभन्दा अघि मोवाइल बैंकिङ मार्फत गरिने कारोबार प्रतिदिन एक लाख रुपैयाँ मात्र थियो ।

त्यसैगरी इन्टरनेट बैंकिङ मार्फत गरिने कारोबार २० लाख रुपैयाँ कायम गरेको छ । यसभन्दा अघि यस्तो कारोबारको सीमा १० लाख रुपैयाँ प्रतिदिन रहेको थियो । त्यसैगरी इन्टरनेटको माध्यमबाट बैंक खातामा रकम भुक्तानी गर्दा २० लाख रुपैयाँसम्मको कारोबार गर्न सकिने व्यवस्था गरेको छ । यसभन्दा अघि त्यस्तो खालको कारोबारको सीमा १० लाख रुपैयाँ मात्र रहेको थियो ।

तर, कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकमान्तर गर्न अधिकतम सीमा सम्बन्धी व्यवस्थाले बाधा पुर्याउने छैन । त्यसैगरी नेपाल सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिष्ट्रेशन तथा सेवा शुल्क जस्ता विविध शुल्कहरू भुक्तानी गर्न, विद्युत सेवा, दूरसञ्चार सेवा, खानेपानी सेवा, बीमा प्रिमियम, सामाजिक सुरक्षा भत्ताको रकमको भुक्तानी गर्न पनि यसले बाधा पुर्याउने छैन ।

राष्ट्र बैंकका अनुसार शिक्षण संस्था (विद्यालय/कलेज), स्वास्थ्य संस्था, हवाई सेवा, यातायात सेवा र होटल तथा रेष्टुरेन्ट सेवा कारोबारको भुक्तानी गर्नुपर्ने बिल बमोजिमको रकम भुक्तानी गर्न बाधा पुग्ने छैन ।

धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्राप्त धितोपत्र दलालहरूसँग धितोपत्रहरूको कारोबार गरे वापत सेवाग्राही ग्राहकबाट रकम भुक्तानी गर्न÷प्राप्त गर्न समेत तोकिएको सीमाले बाधा पु्रयाउने छैन । साथै केन्द्रीय बैंकबाट अनुमती पत्र प्राप्त भुक्तानीका विषेश उपकरणहरुमा यसले बाधा पुगेको नमानिने राष्ट्र बैंकले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १९ फाल्गुन २०७७, बुधबार  १४ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।