
सपोर्ट लघुवित्त (SMB) को शेयरमा लगानी गरेका लगानीकर्ताको हात खाली हुने भएको छ । लघुवित्तले आव २०७६/७७ बाट शेयरधनीलाई कुनैपनि लाभांश वितरण नगर्ने भएपछि लाभांशको आश गरेका लगानीकर्तालाई कम्पनीले निराश बनाएको छ ।
लघुवित्त सञ्चालक समितिको फागुन २१ गते शुक्रबार सम्पन्न १५७ औं बैठकले लाभांश बिना नै आगामी चैत २० गते शुक्रबार छैटौं वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो । इटहरीमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तले आव २०७५/७६ बाट भने लघुवित्तले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
सभाले राष्ट्रिय स्तरको कार्यक्षेत्र बाहेकको लघुवित्तले इक प्रदेशमा मात्र कारोबार सञ्चालक गर्नुपर्ने व्यवस्था बमोजिम प्रदेश ३ मा रहेको तीन बटा शाखा कार्यालय बन्द, बिक्री वा स्थानान्तरण गरी प्रदेश १ मा कायम गरी प्रादेशिक रुपमा कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, मर्जर तथा प्राप्तीका लागि आवश्यक प्रकृया अगाडि बढाउन कार्यादेश दिने, सञ्चालक समितिको बैठक भत्ता, सञ्चार तथा यातायात खर्च वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावहरु उपर छलफल गरी पारित गर्ने भएको छ ।
साधारण सभा प्रयोजनका लागि लघुवित्तले चैत ६ गते शुक्रबार शेयर दाखिला खारेजी मिति तोकेको छ । यसअनुसार चैत ५ गते बिहीबारसम्म कायम लघुवित्तका शेयरधनीले साधारण सभामा प्रतिनिधित्व जनाउन पाउनेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया