ज्योति लाइफको आईपीओ शुक्रबार बाँडफाँड हुँदै, साढे १२ लाखले शेयर नपाउने

0
Shares

ज्योति लाइफको प्राथमिक शेयर (आईपीओ) शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार मंगलबार आईपीओको प्रि अलटमेन्ट गरी अन्तिम स्वीकृतिका लागि धितोपत्र बोर्डमा पठाइएको छ ।

बोर्डबाट स्वीकृति पश्चात शुक्रबार बिहान आईपीओ बाँडफाँड गरिने क्यापिटलको तयारी छ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम गरिएको बाँडफाँड (प्रि अलटमेन्ट) अनुसार ५ लाख ९४ हजार जना आवेदनलाई गोलाप्रथाबाट १० कित्ताका दरले बाँडफाँड गरिने उल्लेख गरिएको छ ।

यसअनुसार आईपीओमा आवेदन दिएका १८ लाख ४२ हजार ४९६ जनामध्ये १२ लाख ४८ हजार ४९६ जना (दोहोरो आवेदक सहित) आवेदकको हात खाली हुने देखिएको छ । जुन सर्वसाधारणका लागि आवेदन दिएकामध्ये ६७.७६ प्रतिशत हो । आवेकदको ३२.२४ प्रतिशत अर्थात ३ जनामध्ये गोलाप्रथाबाट एक जनाले मात्र शेयर पाउनेछन् ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम बाँडफाँड गर्दा उच्च आवेदनका कारण एक तिहाइ लगानीकर्ताले मात्र शेयर पाउने अवस्था आएको हो ।

ज्योति लाइफले कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको ५९ लाख ४० हजार कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम हरेक आवेदकलाई न्यूनतम १० कित्ता शेयर बाँडफाँड गर्नुपर्ने र अपुग भएको खण्डमा निष्काशित शेयर संख्यालाई दशले भाग गरेर पुग्ने जति आवेदकलाई गोलाप्रथाबाट बाँडफाँड गरिने व्यवस्था छ ।

इन्स्योरेन्स कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार ज्योति लाइफको आईपीओमा यसअघिको सबै रेकर्ड ब्रेक हुँदै सर्वसाधारणबाट आवेदन परेको थियो । आईपीओमा सर्वसाधारणबाट माग गरिएको भन्दा ६.४१ गुणा बढी अर्थात तीन करोड ८० लाख कित्ताका लागि आवेदन परेको छ । जबकी कम्पनीले ५९ लाख ४० हजार कित्ताका लागि मात्र आवेदन मागेको थियो ।

नेपाल धितोपत्र बोर्डको पछिल्लो समय मेरो शेयर सफ्टवेयरमा पर्ने अधिक चाप नियन्त्रणका लागि भन्दै शेयर निष्काशन र बाँडफाँड शुक्रबार मात्र गर्न मातहातका निकायलाई निर्देशन दिएको अवस्था छ । सोही अनुसारगत साता रुरु हाइड्रोपावरको स्थानीयको शेयर बाँडफाँड परेकाले ज्योति लाइफको बाँडफाँड एक साता पछाडि सरेको थियो ।

ज्योति लाइफको अधिकृत पूँजी तीन अर्ब, जारी पूँजी दुई अर्ब २० करोड र चुक्ता पूँजी एक अर्ब ५४ करोड छ । सर्वसाधारणलाई आइपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब २० करोड पुग्नेछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: ११ चैत्र २०७७, बुधबार  ११ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।