अब ‘खल्ती’ बाट पनि मेरो शेयर र डिम्याट शुल्क तिर्न सकिने

0
Shares

खल्ती (स्प्यारो पे प्रा.लि) र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सहकार्यमा अब मेरो शेयर तथा ७६ वटा डिम्याट खाता सञ्चालक कम्पनी (डिपी) को डिम्याट एकाउन्ट नवीकरण शुल्क खल्ती डिजीटल वालेटबाटै भुक्तानी गर्न सकने भएको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्य र खल्ती डिजिटल वालेटका सहायक प्रबन्धकजोनाम भूर्तेल बीच यस सम्झौता पश्चात यो लागू भएको हो । यस अन्तर्गत अब मेरो शेयर र डिम्याट खाताको नवीकरण कुनै अन्य सेवा शुल्क बिना नै खल्ती डिजिटल वालेटबाटै गर्न सकिने भएको हो ।

डिम्याट खाताधनीहरूले मेरो शेयरको होम स्क्रिनमा लगइन गरी त्यहाँ रहेको प्रोफाइलमा खाता नवीकरण गर्ने सुविधा उपलब्ध गरिएको छ ।
शेयर डिम्याट खाता र मेरो शेयर शुल्क तिरेर नवीकरण गर्नुपर्ने नियम रहेको छ । समयमा शुल्क नतिरेको खण्डमा मेरो सेयर खाता निष्क्रिय हुने गरेको छ ।

खाता निष्क्रिय भएको खण्डमा डिम्याट खातामा भएको सेयर स्थानान्तरण गर्न सकिँदैन । साथै विभिन्न कम्पनीले निस्कासन गर्ने प्राथमिक शेयरहरु (आइपिओ) मा पनि आवेदन गर्न सकिँदैन ।

‘अब ३० लाख भन्दा बढी खाताधनीहरूले खल्ती एप डाउनलोड गरी अनलाइन डिम्याट र मेरो सेयर नवीकरण गर्न मिल्ने भएको छ,’ खल्तीका भूर्तेलले भने, ‘यसले थप जनतालाई लगानी गर्न प्रोत्साहन गर्ने कुरामा म विश्वस्त छु । साथै यसले डिजिटल नेपालको हाम्रो अभियानमा निकै ठुलो योगदान पुर्याउने पनि विश्वास राख्दछु।’

लगानीकर्ताहरू यस अघि डिम्याट खाता संचालक मेरो सेयर र कम्पनी (डिपी) को कार्यालय धाएर डिम्याट खाताको नवीकरण शुल्क तिर्दै आएका थिए । खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिङ्ग कारोबार सहज साथै सरल गर्नु हो ।

‘खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ चैत्र २०७७, बुधबार  १५ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।