
सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेको साधारण शेयर (आईपीओ) अर्को साता मात्र बाँडफाँड हुने भएको छ ।
यसबीचमा मेरो शेयरमा देखिएको प्राविधिक समस्याका कारण आवेदनको रुजु प्रकृया बिहीबारसम्म सम्पन्न हुन नसकेपछि आईपीओ बाँडफाँड अर्को साताका लागि सरेको हाइड्रोको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटले जनाएको छ । अब कम्पनीको आइपीओमा चैत २७ गते शुक्रबार मात्र बाँडफाँड हुनेछ ।
चैत ६ गते शुक्रबारदेखि १० गते मंगलबारसम्म आईपीओ जारी गरेको कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा १६ लाख २३ हजार ४५० वटा आवेदनबाट २ अर्ब ४७ करोड २० लाख ४५ हजार रूपैयाँ बराबरको २ करोड ४७ लाख २० हजार ४५० कित्ता शेयर माग भएको छ ।
कम्पनीले कर्मचारी र म्युचुअल फण्डका इकाईलाई सुरक्षित गरी २६ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणबाट आवेदन माग गरेकोमा सोमबारसम्म ९.३६ गुणा बढी माग परेको हो ।
कम्पनीले चैत्र ६ गते शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको थियो ।
आईपीओमा न्यूनतम १० कित्तादेखि २ लाख कित्तासम्मको लागि आवेदन दिनसक्ने व्यवस्था रहको थियो । अन्तिम दिनसम्मको प्रारम्भिक तथ्याङ्क अनुसार उच्च आवेदनका कारण १६ प्रतिशत आवेदकले मात्र शेयर पाउनेछन् भने ८४ प्रतिशत अर्थात १३ लाख ६० हजार आवेदकको हात खाली हुने देखिन्छ ।
सिंगटी हाइड्रोपावरले दोलखाको कालिञ्चोक गाउँपालिका–२ बाबरे र विगू–५ चिलंखामा पर्ने सोरुङ खोलामा बाँध बाँधेर २५ मेगावट क्षमताको सिंगटी हाइड्रोपावर आयोजना निमार्ण गरिरहेको छ ।
आयोजनामा लाग्ने कुल लगानी चार अर्ब ३३ करोडमध्ये आयोजनामा सिभिल बैंकको नेतृत्वमा १० वटा वाणिज्य बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया