घोडेजात्राको सार्वजनिक विदा परेपछि आइतबार शेयर बजार नखुल्ने

0
Shares

प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन मनाइने घोडेजात्रा पर्व आइतबार परेपछि आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयर कारोबार नहुने भएको छ ।

सरकारले उपत्यकामा सार्वजनिक विदा दिएसँगै केन्द्रीय राजधानी काठमाण्डौंमा रहेको नेप्से कार्यालय पनि बन्द हुने भएको छ ।

बाहिरी जिल्लामा सार्वजनिक विदा नभएपनि नेप्सेको कार्यालय केन्द्रीय राजधानीमा रहेका कारण देशभरका शेयर ब्रोकर कार्यालयहरु आइतबार बन्द हुने भएका हुन् ।

देश बिकेन्द्रीत भई संघ, प्रदेश र स्थानीय गरी तीन तहबाट सञ्चालन हुन थालेपनि शेयर बजार भने केन्द्रीय रुपमा मात्रै सञ्चालन हुँदै आएको छ । नेप्सेको संरचना केन्द्रमा मात्र रहेकाले काठमाण्डौंमा विदा हुँदा देशभर शेयर कारोबार बन्द हुने अवस्था छ ।  पछिल्लो समय उपत्यकामा विदा भएपनि उपत्यका बाहिर शेयर बजार खुला हुनुपर्ने आवाज उठेको छ । तर शेयर कारोबारको अधिकांश कारोबार उपत्यका केन्द्रीत भएकाले पनि सो आवाज तत्कालै सुनिने अवस्था छैन ।

बिहीबार नेप्सेमा २.७४ अंकको वृद्धि सहित २६७४.३५ अंकमा नेप्से बन्द भएको छ । जुन नेप्सेमा हालसम्म कायम भएको दोस्रो ठूलो उच्च बिन्दु हो । गत मंगलबार (चैत २४ गते) २६७४.४७ अंकको उच्च बिन्दु कायम भएको थियो । बिहीबार २०७ कम्पनीका १ करोड ३३ लाख कित्ता शेयर ६ अर्ब ६५ करोडमा खरीद बिक्री भएको थियो ।

अपर तामाकोशीको सबैभन्दा धेरै ३७ करोडको शेयर कारोेबार भएकोमा एनआईसी एशिया लघुवित्त, ग्रीन लाइफ हाइड्रोपावर, ज्योति लाइफ, मल्टिपपर्स फाइनान्स, रिलायन्स लाइफ र ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्यमा सर्किट लागेरउच्च नाफा कमाउँदा युनिभर्सल पावर कम्पनीको शेयरमा लगानी गरेकाले सबैभन्दा धेरै साढे ४ प्रतिशतका दरले गुमाएका थिए ।

अब सोमबार बिहीबार बन्द भएको बिन्दुबाटै शेयर बजार खुला हुनेछ । २०७७ मा अब सोमबार र मंगलबार शेयर कारोबार हुनेछ । बुधबार नयाँ वर्षको विदाका कारण शेयर बजार पुनः बन्द हुने भएकाले यो साता नेप्सेमा तीन दिन मात्र शेयर कारोबार हुनेछ ।

साताको शेयर बजार कस्तो रह्यो ? हेरौं विश्लेषण

नेपाली सेनाले उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेकाले एक तिहाइलाई मात्र कार्यक्रममा आमन्त्रण गरिएको जनाएको छ । भाइरसको सङ्क्रमण आम मानिसमा नफैलियोस् भनी सतर्कता अपनाउँदै यसो गरिएको हो । 

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो ।

यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ ।

नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।

गत वर्ष कोरोना महामारीका कारण बन्दाबन्दी जारी गरिएकै दिन घोडेजात्रा परेकाले कार्यक्रम स्थगित गरिएको थियो । यस वर्ष पनि सेनाले थोरैलाई आमन्त्रित गरेर साङ्केतिक रूपमा मात्र जात्राका कार्यक्रमलाई निरन्तरता दिन लागेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ चैत्र २०७७, आइतबार  १० : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।