रुरु जलविद्युतको आइपीओ शुक्रबार बाँडफाँड हुने, सयमा ९८ जनाले नपाउने

0
Shares

रुरु जलविद्युतको आइपीओ आगामी शुक्रबार (बैशाख ३ गते) बाँडफाँड हुने भएको छ ।  कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार हाल तथ्याङ्क प्रशोधनको काम अन्तिम चरणमा रहेकाले आवेदन प्रमाणिकरणपछि प्रि-अलटमेन्ट गरी धितोपत्र बोर्डको स्वीकृति पश्चात शुक्रबार आईपीओ बाँडफाँडको तयारी क्यापिटलले गरेको छ ।

आइपीओ बाँडफाँडको समय भने हाल निर्धारण भई नसकेको क्यापिटलले नोटबजारलाई जानकारी दियो ।

रुरु जलविद्युत परियोजना लिमिटेडले निष्काशन गरेको साधारण शेयरमा सर्वसाधारणबाट १६ लाख ६९ हजार १९ वटा आवेदन परेको छ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार कम्पनीको आईपीओ ३७ हजार ९१६ जनाले मात्र पाउनेछन् भने कुन आवेदकको करिब ९८ प्रतिशतको हात खाली हुने देखिएको छ ।

साधारण शेयरमा सर्वसाधारणबाट माग भएको (३ लाख ७९ हजार १६७ कित्ता) तुलनामा ६१.६९ गुणा बढी अर्थात २ करोड ३३ लाख ९० हजार ९० कित्ता खरीदको लागि आवेदन परेको हो ।

कम्पनीले चैत २० देखि २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २० रुपैयाँ थप गरी प्रतिकित्ता १२० रुपैयाँका दरले कुल ४ लाख ७ हजार ७०६ कित्ता प्राथमिक शेयर (आईपीओ) जारी गरेको हो ।

कम्पनीले कुल निष्काशित शेयरमध्ये सामूहिक लगानी कोष र कर्मचारीहरुलाई लागि सुरक्षित गरि ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुबाट आवेदन माग गरिएको थियो ।

  • ४४ जनामध्ये १ जनाले मात्र शेयर पाउने

कम्पनीले सर्वसाधारणमा ३ लाख ७९ हजार १६७ कित्ता शेयर जारी गरेकाले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार बाँडफाँड गर्दा ३७ हजार ९१६ जना आवेदकले मात्र शेयर पाउनेछन् । जुन कुल आवेदक १६ लाख ६९ हजार १९ को २.२७ प्रतिशत (४४ जनामध्ये १ जना) मात्र हो । न्यून कित्तामा शेयर जारी भएका कारण यस निष्काशनमा ९७.७३ प्रतिशत आवेदकको हात खाली हुने भएको हो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार ३७ हजार ९१६ जनाले गोलाप्रथाबाट १० कित्ता शेयर पाउनेछन् । बाँकी रहेको ७ कित्ता शेयर गोलाप्रथाबाट शेयर पाउने ३७ हजार ९१६ जनालाई गोलाप्रथामा सहभागि गराएर ७ जनालाई पुनस् थप १ कित्ताका दरले बाँडफाँड हुनेछ ।

यसअनुसार ३७ हजार ९०९ जनाले १० कित्ताका दरले ३ लाख ७९ हजार ९० कित्ता र ७ जनालाई ११ कित्ताका दरले ७७ कित्ता शेयर बाँडफाँड हुनेछ । यी बाहेक अन्य आवेदकको हात खाली हुनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३१ चैत्र २०७७, मंगलबार  १३ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।