ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेकाले यही वैशाख ११ गते उद्घाटन गरिने भएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने गरी तयारी भएको जानकारी दिए । वि.सं २०७२ को विनाशकारी भूकम्पबाट धरहरा लगायत ऐतिहासिक सम्पदा ध्वस्त भएका थिए ।
पुनःनिर्माणका अधिकांश कार्य सम्पन्न भएसँगै प्राधिकरणले विपद् जोखिममुक्त नेपाल निर्माणको १० वर्षे महा अभियानका लागि कार्यक्रम तयार गर्ने भएको छ ।
प्रधानमन्त्री एवं प्राधिकरणको निर्देशक समितिका अध्यक्ष ओलीको अध्यक्षतामा मङ्गलबार बसेको निर्देशक समितिको १८औं बैठकले सोसम्बन्धी कार्यक्रमको प्रस्ताव तयार पारी आगामी आर्थिक वर्षदेखि महा अभियान शुरु गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरणको सहकार्यमा त्यस्तो कार्यक्रम सम्बन्धी प्रस्ताव तयार भइरहेको छ ।
भूकम्पपछिको पुनःनिर्माण तथा पुनःस्थापनाको कार्य सम्पन्नताको चरणमा पुगेकामा निर्देशक समितिको बैठकले खुशी व्यक्त गरेको छ । प्रधानमन्त्री ओलीले पुनःनिर्माणको सफलता नेपालको गौरव र सम्पत्ति भएको उल्लेख गर्दै यो विश्वलाई देखाउन लायक भएको बताए ।
बैठकले विपद् व्यवस्थापनको दीर्घकालीन कार्य अन्तर्गत प्राचीन बस्ती, विश्व सम्पदा क्षेत्रसहित समग्र शहरी क्षेत्र खासगरी काठमाडौं उपत्यकाको पुनःनिर्माण तथा पुनःस्थापनाको कामलाई समेत ध्यानमा राखी शहरी क्षेत्रको दीर्घकालीन पुनःनिर्माण कार्यक्रमको प्रस्ताव तयार पारी आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममार्फत अघि बढाउने निर्णय पनि गरेको छ ।
प्राधिकरणले उक्त कार्यक्रम अन्तर्गत भूकम्पबाट क्षति भएका संरचनाको पुनःनिर्माण र भविष्यमा भूकम्पबाट क्षति हुनसक्ने निजी आवास, सार्वजनिक संरचना, सम्पदा एवं पूर्वाधारलाई एकीकृत ढङ्गले हेरी पुनःनिर्माण र पुनःस्थापनाको कार्य अगाडि बढाउन मिल्ने गरी कार्यक्रमको खाका तयार गरिरहेको छ ।
प्रधानमन्त्री ओलीले जनसहमति एवं जनसहभागितालाई मूल सिद्धान्त बनाई आवश्यकतानुसार ‘हाउस पुलिङ’लगायतका विधिको अवलम्बन गरी शहरी पुनःनिर्माणका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले बस्तीको प्राचीनता, मौलिकता र सांस्कृतिक पक्षलाई जोगाउँदै ती संरचनालाई भूकम्प प्रतिरोधी बनाउन ध्यान दिनुपर्ने पनि उल्लेख गरे ।
निर्देशक समितिको बैठकले पुनःनिर्माण प्राधिकरणको अवधि २०७८ पुस १० गतेसम्म रहेकामा चालु आर्थिक वर्षमा मूलभूत कामहरु सम्पन्न गर्ने र साउन १ गतेदेखि बाँकी अवधिमा हस्तान्तरण लगायतका कार्यका लागि हस्तान्तरण गर्ने निकाय, योजना तथा कार्यक्रम र वित्तीय व्यवस्थापनको खाका समेत स्वीकृत गरेको छ ।
सोहीअनुसार आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड ३८ लाखको बजेटका लागि नेपाल सरकार समक्ष प्रस्ताव पेश गर्ने निर्णय पनि गरेको छ । निर्देशक समितिका उपाध्यक्ष प्रमुख प्रतिपक्षी दलका नेता रहने व्यवस्था भएअनुरुप निजको प्रतिनिधित्व गर्दै बैठकमा उपस्थित नेपाली कांग्रेसका नेता एवं संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले पुनःनिर्माण तथा पुनःस्थापनाका कार्यमा प्राधिकरणले गरेको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै बाँकी रहेका कार्य यथाशीघ्र सम्पन्न गर्नुपर्नेमा जोड दिए।
बैठकले परराष्ट्र मन्त्रालयको समन्वयमा ‘सगरमाथा संवाद’को समयलाई समेत ध्यानमा राखी सन् २०२१ को नोभेम्बरको अन्तिम साता वा डिसेम्बरको पहिलो साता नेपालको पुनःनिर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने निर्णय पनि गरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया