यस साता नेप्से सूचक २.२९ प्रतिशत अर्थात ६१.११ अंकले बढेर बन्द भएको छ । आइतबार २ हजार ६७४ दशमलव ३५ बिन्दुमा खुलेको नेप्से यस साताको अन्तिम कारोबार दिन बिहीबार २ हजार ७३५ दशमलव ४६ बिन्दुमा बढेर बन्द भएको छ ।
जुन सूचकको आधारमा हालसम्मकै उच्च बिन्दु हो । साताभरीमा नेप्से सूचकमा यस साता ८३.११ अंकको उतार चढाव देखा पर्यो । २ हजार ७५५ उच्चतम बिन्दुमा पुगेको नेप्से यसै साता २ हजार ६७१ दशमलव ८९ बिन्दुसम्म झर्न पुग्यो ।
- कारोबार रकम ३८ प्रतिशत घट्यो
नेप्से बढेपनि यस साता कारोबार रकम भने करिब ३८ प्रतिशतले घटेको छ । सार्वजनिक विदाका कारण सातामा तीन दिनमात्र शेयर कारोबार भएपछि कारोबार रकम घटेको हो ।
यो साता २१८ कम्पनीको ४ करोड ७५ लाख ३३ हजार ७४४ कित्ता शेयर २३ अर्ब ३९ करोड ०६ लाख रुपैयाँ बराबरमा खरीद बिक्री भएको छ । गत साता ३७ अर्ब ६० करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएकोमा यस साता भने अघिल्लोे साताको तुलनामा कारोबार रकम ३७.८० प्रतिशतले घटेको हो । यो साता दैनिक औषतमा ७ अर्ब ७९ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भयो ।
- कुन समूहका परिसूचक कति बढे कति घटे ?
यस साता १० समूहको परिसूचक बढेको छ भने ३ वटा घटेको छ । कारोबारमा आएका १३ उपसमूहमध्ये होटल तथा टुरिजम् सर्वाधिक ३.१५ प्रतिशतले घटेको छ भने विकास बैंककको इन्डेक्स प्रतिशतले ८.१६ बढेको छ ।
यस साताा ब्यापार २.५४ प्रतिशत, अन्य १.६३, र जलविद्युत ०.६३ प्रतिशतले घटेको छ । यससाता बैंकिङ्ग ४.५७, लघुवित्त ३.४८ प्रतिशत, वित्त २.४०, जीवन बीमाको सूचक १.१२, म्युचुअल फण्ड ०.९७ प्रतिशत, लगानी ०.७८ प्रतिशत, उत्पादन ०.६३ प्रतिशत र निर्जीवन बीमाको सूचक ०.६२ प्रतिशतले बढेको छ ।
- एनआईसी एशिया लघुवित्तको शेयरमूल्य ३३ प्रतिशत बढ्यो
यससाता एनआईसी एशिया लघुवित्तको शेयरमूल्य ३३ प्रतिशतले बढेको छ । आइतबार १ हजार ४०५ मा कारोबार खुलको लघुवित्तको मूल्य ४६३ रुपैयाँ बढेर १ हजार ८६८ रुपैयाँ पुगेको हो ।
स्वदेशी लघुवित्तको मर्जरपछि काराबार खुलेको लघुवित्तमा लगानीकर्ताको निरन्तर उच्च आकर्षण देखिएको हो । कम्पनीका समकक्षी अन्य लघुवित्तको मूल्य करिब ३ हजार रहेकाले पनि यस लघुवित्तको मूल्य पनि उच्च बढ्ने आंकलन गरिएको छ ।
यसैगरी ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ शेयरमा लगानी गरेका लगानीकर्ताले पनि ३२.६३ प्रतिशतका दरले कमाएका छन् । दोस्रो बजारमा हालै मात्र कारोबार खुलेको कम्पनीको शेयरको माग उच्च छ भने बिक्री न्यून रहेको छ ।
यसैगरी छ्याङ्दी हाइड्रोपावर ३२.२९ प्रतिशत, सिन्धु विकास बैंक ३१.३७ प्रतिशत, महिला लघुवित्तको शेयरमूल्य ३०.५९ प्रतिशत, कर्णाली डेभलपमेन्ट बैंक १८.०३, सप्तकोशी डेभलपमेन्ट बै.क १७.०५, ग्रीन डेभलपमेन्ट बैंक १३.९७ प्रतिशत, माउन्टेन इनर्जी १२.४३ प्रतिशत, र समृद्धि फाइनान्सको शेयरमूल्य ११.२६ प्रतिशतले बढेको छ ।
- नेशनल हाइड्रोपावर र चन्द्रागिरी हिल्सका लगानीकर्ताले गुमाए
यस साता नेशनल हाइड्रोपावर र चन्द्रागिरी हिल्सको शेयर लगानीकर्ताले ५ प्रतिशत धेरैले गुमाएका छन् । नेशनल हाइड्रोपावरको मूल्य ५.८१ र चन्द्रागिरी हिल्सको ५.१४ प्रतिशतका दरले मूल्य घटेको हो ।
यसैगरी रिलायन्स फाइनान्स, पाँचथर पावर, आइएमई जनरल, ग्रीन लाइफ हाइड्रोपावरको मुल्य ४ प्रतिशत बढीले घटेको छ । रसुवागढी, शिवश्री हाइड्रो, श्री इनभेष्ट फाइनान्स र स्वाभिमान लघुवित्तको मूल्य ३ प्रतिशत बढीले घटेको छ ।
- निफ्राको सर्वाधिक कारोबार
यस साता नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक (निफ्रा) को सर्वाधिक कारोबार भएको छ । बैंकको १५ लाख ७४ हजार ५५५ कित्ता शेयर ९३ करोड ९ लाख ५७ हजार रुपैयाँमा कारोबार हुँदै रकमका आधारमा शीर्ष कारोबार हुने स्थानमा पुगेको हो ।
एनआईसी एशिया बैंक ८२ करोड, नबिल बैंक ७६ करोड, , नेपाल बैंक ६३ करोड, नेपाल बंगलादेश बैंक ५२ करोड, एनआईसी एशिया लघुवित्त ५२ करोड, अपर तामाकोशी ४५ करोड, कुमारी बैंक ४३ करोड, ग्लोबल आइएमई बैंक ४२ करोड र प्रभु बैंकको ३८ करोडको शेयर खरीद बिक्री भएको छ ।
कारोबार भएको शेयर संख्याको आधारमा चन्द्रागिरी हिल्सको सबैभन्दा धेरै २५ हजार ४७१ वटा कारोबार भएको छ भने नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक, एचआइडिसीएल, र अपर ताकोशीको पनि उच्च संख्यामा शेयर कारोबार भएको छ । यी कम्पनीहरुको सातामा ९ हजार वटा बढी संख्यामा कारोबार भएको हो ।
कारोबार कित्ता र संख्याको आधारमा पनि निफ्राको स्थान सुरक्षित भएको छ । बैंकको सबैभन्दा धेरै १५ लाख ७४ हजार ५५५ कित्ता कारोबारमा आउँदा संख्याको आधारमा पनि १८ हजार २६२ पटक कारोबार भएको छ ।
कारोबार कित्ताका आधारमा निफ्रापछि नेपाल बैंक, बंगलादेश बैंक र नेशनल हाइड्रो अग्र स्थानमा रहँदा संख्याका आधारमा एनआईसी एशिया लघुवित्त, ग्लोबल आइएमई बैंक र चन्द्रागिरी हिल्स धेरै पटक शेयर कारोबार हुने कम्पनीम समेटिएका छन् ।
- धेरै शेयर कारोबार गर्ने ब्रोकर कम्पनी
यस साता सबैभनदा धेरै शेयर कारोबार गर्ने कम्पनीमा नासा सेक्युरिटीन अग्र स्थानमा रहेको छ । सातामा १ अर्ब १५ करोडको शेयर खरीद गरेको यस ब्रोकरले खरीदभन्दा २५ करोड बढी १ अर्ब ४० करोडको शेयर बिक्री गरेको छ ।
इम्पेरियल सेक्युरिटीजले १ अर्ब १० करोड, अनलाईन ९४ करोड, डायनामिक मनि चेञ्जर ८९ करोड, भिजन र एबिसी ७७ करोड, दीपशिखा ७१ करोड, ओपल र आर्यतारा ६६ करोड र साउथ एशियन बुलबाट ६५ करोडको शेयर यस साता खरीद भएको छ ।
इस्तै बिक्रीतर्फ अनलाईन सेक्युरिटीज १ अर्ब २२ करोड, इम्पेरियल १ अर्ब ६ करोड, डायनामिक मनि चेञ्जर ८८ करोड, भिजन ८७ करोड, दीपशिखा ७१ करोड, आर्यतारा ६६ करोड, सुमेरु ६२ करोड, अग्रवाल साढे ५९ करोड, र क्रिष्टल कञ्चनजंगाले ५९ करोड बढीको शेयर बिक्री गरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया