नेपालमा भित्रने प्रत्यक्ष वैदेशिक लगानीमध्ये सेवा क्षेत्रको हिस्सा ५०% धेरै

0
Shares

नेपालमा भित्रने प्रत्यक्ष वैदेशिक लगानीमा ५० प्रतिशतभन्दा धेरै हिस्सा सेवा क्षेत्रमा भित्रिएको पाइएको छ ।  नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी स्थलगत सर्वेक्षण प्रतिवेदनमा नेपालमा बाह्य देशबाट भित्रने प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५१.१० प्रतिशत लगानी सेवा क्षेत्रमा आएको उल्लेख छ ।

सेवा क्षेत्र अन्तर्गत भित्रिएको कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७.४ प्रतिशत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूमा रहेको उक्त प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदन अनुसार सेवा क्षेत्रपछि औद्योगिक क्षेत्रमा धेरै लगानी भित्रिएको छ ।

यस क्षेत्रमा कुल भित्रिएको लगानीको ४८.८ प्रतिशत लगानी भित्रिने गरेको छ । औद्योगिक क्षेत्रमा आउने लगानीमध्ये औद्योगिक क्षेत्र अन्तर्गत उत्पादन क्षेत्रमा २८.६ प्रतिशत र जलविद्युतक्षेत्रमा २०.० प्रतिशत वैदेशिक लगानी रहेको छ ।

प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७५/७६ अनुसार आर्थिक वर्ष २०७५/७६ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूमध्ये कुल १५३ वटा कम्पनीको नमूना छनौट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क विश्लेषणका आधारमा प्रतिवेदन तयार पारिएको राष्ट्र बैंकले जनाएको छ ।

सर्वेक्षणबाट प्राप्त नतिजाअनुसार नेपालमा आर्थिक वर्ष २०७५/७६ मा ५३ देशहरूबाट प्रत्यक्ष वैदेशिक लगानी आएको छ । जसमध्ये भारतबाट सबैभन्दा बढी ५६ अर्ब ५ करोड भित्रिएको छ । भारतपछि चीनबाट २७ अर्ब ५६ करोड, सेन्ट किष्टस एण्ड नेभिसबाट २४ अर्ब ९४ करोड, आयरल्याण्डबाट ११ अर्ब ५९ करोड र सिङ्गापुरबाट ८ अर्ब ७३ करोड प्रत्यक्ष वैदेशिक लगानी आएको उल्लेख छ ।

त्यसैगरी, २०७६ असार मसान्तसम्ममा नेपालमा आउने कुल प्रत्यक्ष वैदेशिक लगानी ८.८ प्रतिशतले कमी आई १ खर्ब ८२ अर्ब ९२ करोड कायम भएको छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पूँजीको अंश ४८.२ प्रतिशत, रिजर्भ ४२.८ प्रतिशत र कर्जाको अंश ९.० प्रतिशत रहेको छ । रिजर्भको अंश २७.० प्रतिशतले घटेकोले कुल प्रत्यक्ष वैदेशिक लगानीमा कमी आएको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ ।

राष्ट्र बैंकले वैदेशिक लगानी सम्बन्धी आवश्यक तथ्याङ्क सङ्कलन गरी यस्तो लगानीको क्षेत्रगत अवस्था एवं प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पु¥याउने उद्देश्यले आर्थिक अनुसन्धान विभागबाट उक्त अनुसन्धान गरेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ बैशाख २०७८, बिहिबार  १४ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।