
एनआईसी एसिया क्यापिटल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७१ प्रतिशतले नाफ्नजो खुद नाफा वृद्धि गरेको छ ।
तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार क्यापिटलले ५ करोड ४८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा क्यापिटलको प्रतिशेयर आम्दानी ३६.५७ रुपैयाँ कायम भएको छ ।
कोरोना महामारीका कारण उत्पन्न विषम परिस्थितिका बाबजुत क्यापिटलले व्यवसायमा उत्साहजनक वृद्धि गरेको हो । क्यापिटलले यस अवधिसम्म ३ लाख ७० हजारभन्दा बढी डिम्याट खाता खोली डिम्याट खाता संख्याका आधारमा नम्बर १ कम्पनी बन्नेको कम्पनीले जनाएको छ । क्यापिटलले समग्र बजारको १०.८६ प्रतिशत हिस्सा ओगट्न सफल भएको छ ।
क्यापिटलले मर्चेन्ट बैंकिङ सेवा अन्तर्गत समीक्षा अवधिसम्म ९ वटा कम्पनीको शेयर रजिष्ट्रारसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ । निष्काशन तथा बिक्री प्रबन्धक सेवा अन्तर्गत हालसम्म ६ वटा कम्पनीको प्राथमिक शेयर निष्काशन, ४ वटा कम्पनीको हकप्रद शेयर निष्काशन र १२ वटा कम्पनीको बोलकबोलमार्फत शेयर बिक्री गर्ने कार्य सम्पन्न गरेको छ ।
क्यापिटलले समीक्षा अवधिसम्म लगानी व्यवस्थापन सेवा अन्तर्गत ‘मेरो लगानी, मेरो भविष्य’ भन्ने मूल नाराका साथ ग्राहकमुखी तथा नवीनतम विभिन्न योजनाहरु सञ्चालन गरी ४६६ जना ग्राहकबाट १ अर्ब १५ करोडभन्दा बढी रकम संकलन गरी लगानी व्यवस्थापन सेवा उपलब्ध गराइएको छ । हालको बजार मूल्यका आधारमा गणना गर्दा उक्त रकम १ अर्ब ५४ करोड भन्दा बढी रहेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १०५.५४ प्रतिशतले वृद्धि हो ।
- म्युचुअल फण्ड सञ्चालनको पहिलो वर्षदेखि नै लाभाशं वितरण
क्यापिटको व्यवस्थापनमा सञ्चालनमा आएका ‘एनआईसी एशिया ग्रोथ फण्ड’ तथा ‘एनआईसी एशिया ब्यालेन्सड् फण्ड’ ले सञ्चालनमा आएको पहिलो वर्षदेखि नै नगद लाभाशं वितरण गरेका छन् ।
ग्रोथ फण्डले पहिलो वर्ष १० प्रतिशत र दोस्रो वर्ष १२ प्रतिशत गरी हालसम्म २२ प्रतिशत लाभाशं वितरण गरिसकेको छ भने ब्यालेन्सड् फण्डले सञ्चालनमा आएको पहिलो वर्षको आठ महिनाको अवधिमै ८ प्रतिशत लाभाशं वितरण गरेको छ ।
उक्त लाभाशं वितरण पश्चात समेत आ.व. २०७७।७८ को तेस्रो त्रैमासको अन्त्यमा एनआईसी एशिया ग्रोथ फण्ड’ को खुद सम्पत्ति मूल्य (न्याभ) १७.८६ र एनआईसी एशिया ब्यालेन्सड् फण्डको न्याभ १६.५५ तथा एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको न्याभ ११.०९ कायम गर्न सफल भएको छ ।
हाल क्यापिटलले एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत ३ वटा योजना सञ्चालन गरिरहेको छ । जसअन्तर्गत दुईवटा बन्दमुखी योजना ‘एन आईसी एशिया ग्रोथ फण्ड’ र ‘एनआईसी एशिया ब्यालेन्सड् फण्ड’ तथा एउटा खुलामुखी योजना ‘एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड’ रहेका छन् । एक अर्ब बराबरको चौथो योजना ‘एनआईसी एशिया सेलेक्ट–३०’ (इन्डेक्स फण्ड) नेपाल धितोपत्र बोर्डमा अन्तिम स्वीकृतिको चरणमा रहेको छ ।
हाल क्यापिटलले काठमाण्डौ उपत्यकाभित्र कीर्तिपुर, चाबहिल र अनामनगरमा शाखा कार्यालय खोली क्यापिटलको सेवा विस्तार गरेको छ । साथै, निकट भविष्यमा काठमाण्डौ उपत्यकाबाहिरबाट समेत शाखा कार्यालय खोली क्यापिटलको सेवा विस्तार गर्ने रणनीति लिएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया