सिईडिबि हाइड्रोपावरको आइपीओमा १५ लाख आवेदन, रेकर्ड ब्रेक होला ?

0
Shares

सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्काशन गरेको साधारण शेयरमा आइतबार साँझसम्ममा १५ लाख ३६४ वटा आवेदन परेको छ ।

कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार सोमबारसम्म २ अर्ब ३० करोड ७३ लाख २३ हजार ६०० रुपैयाँ बराबरको २ करोड ३० लाख ७३ हजार २३६ कित्ता शेयर माग आवेदन परेको छ ।

यो सर्वसाधारणबाट माग भएको कित्ताको तुलनामा ९.८५ गुणा बढी परिमाणको शेयर माग भएको हो । कम्पनीले कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर २३ लाख ४१ हजार ९५४ कित्ता शेयर खरीदका लागि आवेदन मागेको थियो ।

आईपीओमा आवेदन गर्ने मंगलबार अझै एकदिन समय बाँकी रहेको छ । धेरैजसो सक्रिय आवेदकले आईपीओमा आवेदन गरिसकेका कारण यस आईपीओमा यसअघिका पुराना रेकर्ड ब्रेक भने नहुने अवस्था देखिन्छ । मंगलबार कम्पनीको आईपीओमा २ लाखभन्दा केही बढी आवेदन पर्ने आंकलन गरिएको छ । यसो भएमा यो सार्वजनिक निष्काशनमा पनि आवेदक १७ लाख नाघ्नेछ ।

यो कम्पनी जलविद्युत निमार्ण गर्ने कम्पनी भएकाले पनि लगानीकर्ताको लघुवित्त वा बीमा कम्पनीहरुमा भन्दा आकर्षण कम रहेको छ । त्यसमाथि पाँच सात पटकमा पनि गोलाप्रथाबाट १० कित्ता शेयर पाउन पनि मुस्किल पर्न थालेपछि पछिल्लो समय पुराना आईपीओ लगानीकर्ताको आकर्षण प्राथमिक निष्काशनमा घट्दो छ ।

कम्पनीले बैशाख १७ गते शुक्रबारदेखि जारी पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गरेको हो ।

कुल निष्काशित शेयरमध्ये ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई र २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आईपीओमा लगानीकर्ताले सिडिएससीको मेरो शेयर मोबाइल एप र वेवसाइट, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट बैशाख २१ गते मंगलबारसम्म आवेदन दिन सक्नेछन् ।

आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सबै कित्ताको लागि आवेदन दिन सकिने व्यवस्था भएपनि एक हजार रुपैयाँको आवेदन दिनु नै उपयुक्त देखिन्छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बि आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउदँछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० बैशाख २०७८, सोमबार  १७ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।