चिनियाँ खोप ‘भेरोसेल’को दोस्रो मात्रा आजदेखि लगाउन शुरु

0
Shares

सरकारले कोभिड–१९ विरुद्धको ‘भेरोसेल’को खोपको दोस्रो मात्रा आजदेखि काठमाडौं जिल्लामा लगाउने शुरुवात गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौं सूचना प्रकाशित गरी पहिलो खोपको मात्रा लगाएका १८ देखि ५९ वर्ष उमेर समूहलाई आजदेखि जेठ ११ गतेसम्म दोस्रो मात्राको खोप लगाउन शुरु गरिएको हो ।

कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बुद्धिबहादुर खड्काले दोस्रो मात्राका लागि आजदेखि जेठ ११ गतेसम्म आफूलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउन अनुरोध गरेका छन् ।

उनका अनुसार काठमाडौं जिल्लाका ११ वटै नगरपालिकामा रहेका खोप केन्द्रबाट खोप लगाउन शुरु गरिएको हो ।

काठमाडौं महानगरपालिकामा ३३ खोप केन्द्र, चन्द्रागिरि नगरपालिकामा तीन खोप केन्द्र, कीर्तिपुर, बूढानीलकण्ठ, गोकर्णेश्वर, टोखा र नागार्जुन नगरपालिकाका दुई÷दुई खोप केन्द्र, कागेश्वरीमनहरा, तारकेश्वर शङ्खरापुर र दक्षिणकालीमा एक/एक खोप केन्द्र रहेका छन् ।

कार्यालयले गत चैत २५ देखि २८ गतेसम्म लगाएकाले आज, चैत २९ र ३० गते लगाएकाले यही जेठ ३ गते, चैत ३१ र वैशाख २ गते लगाएकाले जेठ ४ गते, वैशाख ३ र ४ गते लगाएकाले जेठ ५ गते, वैशाख ५ र ६ गते लगाएकाले जेठ ६ गते दोस्रो मात्राको खोप लगाउन भनिएको छ ।

यस्तै, गत वैशाख ७ देखि १० गतेसम्म लगाएकाले जेठ ७ गते, वैशाख ११ र १२ गते लगाएकाले जेठ ८ गते, वैशाख १३ गते लगाएकाले जेठ ९ गते, वैशाख १४ गते लगाएकाले जेठ १० गते र वैशाख १५ गते लगाएकाले जेठ ११ गते खोप लगाउन अनुरोध गरिएको छ ।

चीन सरकारबाट अनुदानमा ल्याइएको ‘भेरोसेल’ खोपको पहिलो मात्रा गत चैत २५ देखि वैशाख १५ गतेसम्म लगाइएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ जेष्ठ २०७८, आइतबार  १७ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।