कोभिड–१९ सङ्क्रमणको दोस्रो लहरले ६०% घट्यो दुग्ध पदार्थको खपत, दैनिक १० करोड बढीको नोक्सानी

0
Shares

दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राख्दै देशका विभिन्न स्थानमा लागू गरिएको निषेधाज्ञाका कारण दुग्ध पदार्थको खपतमा कमी आएको छ । अन्य समयको तुलनामा निषेधाज्ञासँगै दुग्ध पदार्थको ६० प्रतिशतले कमी आएको व्यवसायीहरू बताउँछन् ।

नेपाल डेरी एसोसिएसनका अनुसार पछिल्लो समय दुग्ध पदार्थको खपतमा कमी आउँदा दैनिक दश करोड बराबरको नोक्सानी भएको छ ।

गत वर्षको बन्दाबन्दीमा रहेको मौज्दात दुग्ध पदार्थको धुलो र बटर हालसम्म बिक्री नभएको र थप निषेधाज्ञाका कारण ठूलो मात्रामा मौज्दात भएको एसोसिएसनका महासचिव प्रल्हाद दाहालले जानकारी दिए ।

उनका अनुसार हाल निजी डेरी र दुग्ध विकास संस्थानमा गरेर करिब तीन अर्ब रुपैयाँ बराबरको पाउडर दूध र बटर भण्डारमा थन्किएर बसेको छ ।

चालु पूँजीको रुपमा रहेको रकम ठूलो मात्रामा सामग्री भण्डारणमा मौज्दात बस्दा धेरै डेरी उद्योगहरू बन्द हुने अवस्थामा पुगेको जनाईएको छ । “गत वर्षको बन्दाबन्दी पछि धेरै क्षेत्रलाई सरकारले अनुदान र राहत उपलब्ध गरायो तर दुग्ध क्षेत्रले आजसम्म कुनै पनि राहत तथा सहयोग पाएको छैन । सरकारी सहयोग नहुँदा धेरै व्यवसायी तथा किसानको आकर्षण घट्दो रहेको छ”, उनले भने ।

उनका अनुसार सरकारले हाल उत्पादन क्षेत्रमा आकर्षण बढाउनु पर्नेमा किसान तथा व्यवसायीलाई निरुत्साहन गरेपछि भविष्यमा यसको ठूलो असर पर्ने देखिएको छ ।

महासचिव दाहाल नेपाल राष्ट्र बैंकले तोके अनुसारको ५ प्रतिशत छुटमा पाँच करोड रुपैयाँसम्म कर्जा पाउँदा धेरै राहत भएको बताउँछन् । “बन्दाबन्दीले हामीहरू व्यवसायबाटै पलायन हुने अवस्थामा पुगेका थियौँ, अन्य क्षेत्रमा कर्जा पाउन समस्या भएता पनि डेरी उद्योगीहरूलाई बैंकले खोजीखोजी कर्जा उपलब्ध गराउँदा धेरै सहज भएको थियो”, उनले भने ।

डेरी एशोसिएसनको तथ्याङ्कअनुसार नेपालमा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुने गरेकामा औपचारिक क्षेत्रमा १७ प्रतिशत र अनौपचारिक क्षेत्रमा ३३ प्रतिशत खपत हुँदै आएको छ भने कृषक स्वयंले ५० प्रतिशत उपभोग गर्ने गरेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ जेष्ठ २०७८, आइतबार  २१ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।