हेटौंडा अस्पतालमा एक करोड ३० लाख लागतमा अक्सिजन प्लान्ट निर्माण हुने

0
Shares

वाग्मती प्रदेशको राजधानी हेटौंडामा रहेको हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको काम शुरु हुने भएको छ ।

अक्सिजन प्लान्ट निर्माणका लागि मङ्गलबार अस्पताल र उद्योग सङ्घ हेटौंडाबीच सम्झौता भएको हो ।

प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको रोहवरमा यही जेठ १६ गतेभित्र निर्माण शुरु हुने गरी सम्झौता भएको हो । सम्झौतापत्रमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार एवं हेटौंडा अस्पताल सञ्चालन, व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईँ र उद्योग सङ्घ हेटौंडाका अध्यक्ष लेखराज पोखरेलले हस्ताक्षर गरेका छन् ।

प्लान्ट निर्माण एक करोड ३० लाखमा सम्पन्न हुने अनुमान सङ्घले गरेको छ । प्लान्ट निर्माणको संयोजन उद्योग सङ्घले गर्ने र आर्थिक जोहो सङ्घसँग आबद्ध उद्योगीहरुले गर्ने सङ्घले जानकारी दिएको छ ।

जेठ १६ गतेसम्ममा ठेकेदारलाई प्लान्ट निर्माणको जिम्मेवारी दिने र त्यसको करिब २०-३० दिनभित्र प्लान्ट जडान भइसक्ने सङ्घका अध्यक्ष पोखरेलले जानकारी दिए । प्लान्टले दैनिक २०० सिलिण्डर अक्सिजन आपूर्ति गर्नसक्ने उनले बताए ।

यसैबीच मकवानपुरमा कोभिड–१९ सङ्क्रमितको उपचारका लागि अक्सिजन अभाव हुन थालेपछि हेटौंडा उपमहानगरपालिकाले दैनिक १०० सिलिण्डर अक्सिजन ल्याउने अभियान शुरु गरेको छ ।

कोरोना सङ्क्रमणको दर बढिरहेकाले हेटौंडा अस्पतालमा उपचाररत बिरामीलाई सघाउ पु¥याउने उद्देश्यले सो अभियान चालिएको उपमहानगरपालिकाले जनाएको छ । प्रत्येक दिन उपमहानगरपालिकाको आर्थिक लगानीमा १०० सिलिण्डर अक्सिजन भरेर अस्पतालमा उपलब्ध गराइने छ ।

पछिल्लो समय उपमहानगरपालिकामा अक्सिजन चाहिने सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि स्थानीय सरकारले पहलकदमी बढाएको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ जेष्ठ २०७८, बुधबार  १२ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।