वैशाखमा उपलब्ध गराएको सेवा वापतको दाबी आजसम्म गर्न स्वास्थ्य बीमा बोर्डको अनुरोध

0
Shares

स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक संस्थालाई वैशाख महिनामा बीमितलाई उपलब्ध गराएको सेवा वापत दाबी गर्न बाँकी रकम जेठ २० (आज) गतेसम्म दाबी गर्न अनुरोध गरेको छ ।

बोर्डले विश्वभरि फैलिएको दोस्रो लहरको महामारीको विषम परिस्थितिका कारण देखिन गएको समस्या तथा ओपन आइएमआईएसको नयाँ भर्सन अद्यावधिक गर्ने कार्यलाई मध्यनजर गर्दै सेवा प्रदायक संस्थालाई यस्तो आग्रह गरेको हो ।

उक्त मिति पश्चात नियमित रुपमा उपलब्ध गराएको सेवाको दाबीका सम्बन्धमा अधिकतम ७ दिनभित्र दाबी गर्न सक्ने बोर्डले जानकारी दिएको छ ।

बोर्डले यस अघि सेवा प्रदायक संस्थालाई वैशाख महिनामा बीमितलाई उपलब्ध गराएको सेवा वापत दाबी गर्न बाँकी रकम जेठ १३ गतेसम्म दाबी गर्न भनेको थियो ।

बोर्डले बीमा सेवालाई प्रभावकारी, गुणस्तरीय तथा गुनाँसो रहित बनाउनका लागि सेवा प्रदायक संस्थालाई अनुरोध गर्दै आएको छ । बोर्डले जेठ दुई गतेदेखि बीमितलाई सामान्य/आकस्मिक रुपमा ओपिडिबाट वा प्रवाह गरेको हकमा सोही दिनमा नै दाबी गर्नु आग्रह गरेको छ । यदि बीमितलाई सामान्य/आकस्मिक रुपमा इन्डोरबाट भर्ना गरी सेवा प्रवाह गरेको हकमा भने बिरामी डिस्चार्ज हुँदाको दिनमै क्लेम गर्नुपर्ने छ ।
उक्त अनुसार सेवा प्रवाह गरेको दिनमै दाबी नगरेको क्लेम बीमा व्यवस्थापन सूचना प्रणालीले नै नलिने भन्दै सेवा प्रदायक संस्थालाई बोर्डले सूचित गर्दै आएको छ ।

बीमा कार्यक्रममार्फत पाँच जनासम्मको परिवारको तीन हजार ५०० बुझाएपछि त्यस घरमा रहेका सदस्यले एक लाख बराबरको औषधि उपचार सरकारले तोकेको अस्पतालमा निःशुल्क उपचार गर्न पाईन्छ । पाँच जनाभन्दा बढी सदस्य भएपछि प्रति सदस्यका दरले ७०० रुपैयाँ बुझाउनु पर्दछ । पाँच जनाभन्दा बढी सदस्यले प्रति सदस्य २० हजारदेखि दुई लाखसम्म निःशुल्क उपचार गर्न पाउने व्यवस्था छ ।

बोर्डले बीमा कार्यक्रमका लागि देशभरिका सरकारी र निजी गरी ३७५ अस्पताललाई सूचीकृत गरेको छ । ती अस्पतालमा उपचार बीमा लागू गरेका परिवारका सदस्यले एक लाख रुपैयाँसम्मको निःशुल्क उपचार सेवा पाउनेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० जेष्ठ २०७८, बिहिबार  १५ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।