बीमा कम्पनीको शेयरमा लगानीकर्ताको प्रवेश, नेप्सेमा ५३ अंकको वृद्धि हुँदा सूचक २९६० बिन्दुमा

0
Shares

 

कोभिड संक्रमणका बीच लगानीका क्षेत्र सुंकुचित भई शेयर बजारमा लगानी एकीकृत हुँदा शेयर बजारका लगानीकर्ताले एकपछि अर्को सेक्टरमा लगानी सिफ्ट गर्न थालेका छन् । यसै क्रममा मंगलबार फाइनान्स र विकास बैंकसँगै लगानीकर्ताको रोजाई बीमा कम्पनीको शेयरमा परेको छ ।

केही दिनअघि बैंकिङ्ग सेक्टरमा लगानीकर्ताको प्रवेश भएपनि बजारमा प्रयाप्त आपूर्ति रहेको कम्पनीको शेयरमूल्यमा मूल्य वृद्धि गर्न असम्भव प्रायः बनेपछि थोरै पूँजी भएका र सर्वसाधारणमा थोरै हिस्सा रहेको फाइनान्स, विकास बैंक र बीमा कम्पनीको सूचक बढाउने चलखेल सुरु भएको छ । कारोबारीहरुलाई मूल्यमा उतार चढाव ल्याउन कम आपूर्ति भएका कम्पनी सहज हुने हुँदा पनि यी कम्पनीको शेयरमूल्य पटक-पटक घटबढको अवस्था देखिन थालेको हो । पछिल्ला दिनमा मुख्यतः फाइनान्स र विकास बैंक र जलविद्युतको शेयरमूल्यमा तीव्र उतार चढाव आइरहेको छ ।

अर्कोतर्फ मंगलबार नेपाल धितोपत्र बोर्डको २९ औं वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र बोर्डका अध्यक्षलाई बजेटमा घोषित वस्तु विनियम बजार सञ्चालनलाई अगाडि बढाउन र लगानीकर्ताको हीत संरक्षण गर्दै बोर्डको भुमिका सशक्त र प्रभावकारी बनाउन निर्देशन दिएका छन् । पूँजी बजारमैत्री अर्थमन्त्रीको रुपमा छबी बनाएका पौडेलको पूँजी बजारप्रतिको सकारात्मक दृष्टिकोणका कारण लगानीकर्ताको मनोबल उच्च भएको छ ।

बजारमा अन्य क्षेत्रमा लगानीको ठाउँ नहुँदा अहिले अधिक तरलताले शेयर बजारमा सोझो प्रभाव पारेको छ । जसले दैनिक १५ अर्बभन्दा बढीको शेयर खरीद बिक्री हुने अवस्था सिर्जना भएको छ ।

बजारमा आएको प्रयाप्त तरलताका कारण अर्थतन्त्रका सूचकमा उत्साहित वृद्धि नभएपनि शेयर बजारमा भने निरन्तर एकपछि अर्को रेकर्ड कायम हुन थालेको छ । यसै क्रममा मंगलबार नेप्से ५३.४४ अंकले बढेर हालसम्मकै उच्च बिन्दु २९६०.१४ अंकमा पुगेर बन्द भएको छ । यो सूचकका आधारमा ऐतिहासिक रेकर्ड समेत हो । 

कारोबार रकमका आधारमा भने जेठ २३ गते आइतबार सबैभन्दा धेरै रकम अर्थात १७ अर्ब २७ करोड १७ लाखको शेयर कारोबारको रेकर्ड कायम छ । यसअघि जेठ १६ गते आइतबार १७ अर्ब २ करोडको शेयर कारोबारमा भएको थियो। मंगलबार भएको कारोबार रकम हालसम्मकै तेस्रो ठूलो हो ।

मंगलबारको बजारमा २१८ वटा कम्पनीको ३ करोड ५७ लाख ३७४ कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ९५ करोड रुपैयाँ माथिको कारोबार भएको छ । मंगलबार कारोबारमा आएका १३ समुहका सूचकमध्ये १० वटाको सूचक बढ्दा ३ वटाको मात्र सूचक घटेको छ । होटल एण्ट टुरिजम, माइक्रोफाइनान्स र इन्भेष्टमेण्ट सूचक मात्रै घटेको छ ।

आजको बजारमा विकास बैंक, फाइनान्सको सूचकमा धेरै बढेका छन् । डेभलपमेन्ट बैंकको सूचक ९.०४ प्रतिशत र फाइनान्सको सूचक ८.७१ प्रतिशतले बढेको छ । बीमा कम्पनीको शेयरमा लगानीकर्ताको प्रवेशले निर्जीवन बीमा कम्पनीको सूचक ३.७८ प्रतिशत र जीवन बीमा कम्पनीको सूचक ३.६५ प्रतिशतले बढोत्तरी भएको छ । यसदिन लगानीको सूचक ०.८८ प्रतिशत, होटल एण्ट टुरिजमको सूचक ०.४६ प्रतिशत र माइक्रोफाइनान्सको सूचक ०.४५ प्रतिशतले घटेको छ ।

आज तीन दर्जन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । अधिकांश विकास बैंक र वित्त कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । हिमालयन जनरल इन्स्योरेन्स, गाखार्ज फाइनान्स, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स, जानकी फाइनान्स, समृद्धि फाइनान्स, सांग्रिला डेभलपमेण्ट बैंक, मुक्तिनाथ विकास बैंक र ग्रीन डेभलपमेण्ट बैंकको शेयर मूल्य १० प्रतिशतले बढेको हो ।

मेरो माइक्रोफाइनान्स, हिमाल दोलखा हाइड्रो पावर, सामुदायिक लघुवित्त र मिथिला लघुवित्तको शेयरमूल्य २ प्रतिशतल धेरैले घटेको छ ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको १ अर्ब ६ करोड ६४ लाख ६४ हजार ७२१ रुपैयाँको कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनी पछि । रसुवागढी हाइड्रो पावर, यूनाइटेड मोदि हाइड्रोपावर, लुम्बिनी विकास बैंकको धेरै कारोबार भएको छ ।

रसुवागढी हाइड्रोपावर कम्पनीको ४७ करोड ८१ लाख रुपैयाँ, यूनाइटेड मोदी हाइड्रो पावर कम्पनीको ३७ करोड २२ लाख रुपैयाँ र लुम्बिनी विकास बैंकको ३५ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ जेष्ठ २०७८, मंगलबार  १६ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।