वित्तीय प्रणालीबाट साढे २६ अर्ब उठाउँदै नेपाल राष्ट्र बैंक

0
Shares

नेपाल राष्ट्र बैंकले वित्तीय बजारबाट २६ अर्ब ५३ करोड रूपैयाँ उठाउने भएको छ । सरकारलाई विकास निमार्णका लागि बजेमा निर्धारण गरिएको आन्तरिक ऋण उठाउन बैंकले सोमबार ट्रेजरी बिक्रीबाट उक्त रकम खिच्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार ट्रेजरी बिक्री मार्फत कुल संकलन गरिन लागिएको २६ अर्ब ५३ करोड रुपैयाँमध्ये १९ अर्ब ३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री यसअघि जारी भैसकेको बिलको नवीकरण हो भने ७ अर्ब ५० करोड रुपैयाँ नयाँ संकलन गरिन लागिएको हो ।

केन्द्रीय बैंकका अनुसार बैंकले २८ दिनको अवधिको लागि ५ अर्ब, ९१ दिनको अवधिको लागि ११ अर्ब ५३ करोड र १८२ दिनको अवधिको लागि १० अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

असार ८ गते, मंगलबार जारी हुने यी ट्रेजरी बिल्सहरु क्रमशः २०७८ साल साउन ५ गते, २०७८ साल असोज ५ गते र २०७८ पुस ६ गते परिपक्क हुनेछ ।

ट्रेजरी बिल एक वर्षवा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।

सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । निष्कासन र बोलकबोलमा प्रयोग गरिने विधि ट्रेजरी बिल बोलकबोलको माध्यमबाट निष्कासन हुने गर्दछ । बोलकबोलमा बहु–बोलमूल्य विधि (अमेरिकी बोलकबोल प्रणाली) प्रयोग गरिन्छ । बोलकबोल ट्रेजरी बिलको बोलकबोल मूल्यमा गर्नुपर्दछ ।

एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहु–मूल्यमा पनि बोल गर्न सकिने व्यवस्था छ । बोलकबोलको माध्यम ट्रेजरी बिलको बोलकबोल अनलाइन बिडीङ प्रणालीको माध्यमबाट गर्नु पर्दछ । ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ । डिस्काउण्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ ।

केन्द्रीय बैंकले जेठ ३१ गते जारी गरेको ९ अर्बको ९१ दिन अवधिको ट्रेजरी बिलमा ४.६८२२ प्रतिशत र ३६४ दिन अवधिको ६ अर्बको ट्रेजरी बिलमा ४.४४५१ प्रतिशत डिस्काउन्टदर निर्धारण भएको थियो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, संगठित संस्थाका साथै सर्वसाधारण नेपाल नागरिक ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्दछन् । ट्रेजरी बिलको बोल आह्वान गर्दा आह्वान रकमको कम्तिमा १५ प्रतिशत रकम अप्रतिस्पर्धीको लागि छुट्याइएको हुन्छ ।

ट्रेजरी बिलको बोलकबोलमा “क”,“ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाले अप्रतिस्पर्धीको रूपमा भाग लिन पाइँदैन । अप्रतिस्पर्धीको रूपमा बोल गर्दा माग रकममात्र उल्लेख गर्नु पर्दछ, मूल्य उल्लेख गर्नु पर्दैन । प्रतिस्पर्धी बोलकबोलबाट निर्धारित भारित औसत मूल्यमा अप्रतिस्पर्धी बोलवालालाई ट्रेजरी बिल उपलब्ध गराइन्छ । एउटै बोलकबोलमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी दुवैतर्फबाट बोल गर्न भने पाइँदैन ।

भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र रिपो, सोझै खरीद, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तरबैंक कारोबारमा प्रयोग गर्न सकिन्छ । ब्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी यस बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिन्छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ असार २०७८, आइतबार  १५ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।