
राष्ट्रिय गौरवको अपर तामाकोशी जलविद्युत आयोजनाको परीक्षण उत्पादनको कार्य सकिएपछि आयोजनाबाट उत्पादित बिजुली खिम्तीको नयाँ सबस्टेशनमार्फत नै तामाकोशीको बिजुली राष्ट्रिय प्रसारणमा जोडिने भएको छ ।
बिजुली जडानका लागि आइतबारदेखि (असार १३ गतेदेखि १९ गते) शनिबारसम्म खिम्ती लामोसाँघु १३२ केभी प्रसारण लाइन बन्द गरेर अपर तामाकोशी जलविद्युत आयोजनालाई राष्ट्रिय विद्युत प्रणालीमा जोड्न लागिएको हो ।
नेपाल विद्युत प्राधिकरणले अपर तामाकोशी जलविद्युत जडानका लागि एक साताका लागि ढल्केबरदेखि कोहलपुर सम्मकका सबस्टेसनहरुबाट विद्युत आपूिर्त हुने क्षेत्रमा औद्योगिक ग्राहकहरुको छोटो समय विद्युत कटौती हुने सक्ने जनाएको छ । यद्यपी सो समयमा कुलेखानी जलासशयको पानी प्रयोग गरी विद्युत कटौतीको समय कम गर्न प्रयास गरिने प्राधिकरणले जनाएको छ ।
तामाकोशी करिडोरबाट उत्पादन हुने बिजुली अब खिम्तीमा बनाइएको नयाँ सबस्टेशन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । खिम्ती लामोसाँघुबाट प्रसारण हुने बिजुली ढल्केबर पठाएर वैकल्पिक माध्यमबाट काठमाडौं ल्याउने तयारी नेपाल विद्युत प्राधिकरणले गरेको छ ।

तामाकोशी जलविद्युत् आयोजनाले पहिलो युनिटपछि हरेक साता अर्को युनिटबाट उत्पादन गर्ने तयारी गरेको छ । यसअनुसार यही असार मसान्तभित्रै १५२ मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ । आयोजनामा कूल ६ युनिट रहेका छन् ।
आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार पहिलो चरणमा पहिलो युनिटको परीक्षण सम्पन्न भइसकेको छ । असार मसान्तभित्रै आयोजनाका दुई युनिटबाट बिजुली उत्पादन गर्ने गरी आवश्यक तयारी अन्तिम चरणमा पुगेको हो ।
कूल ४५६ मेगावाट क्षमताको सो आयोजना निर्माण शुरु हुँदा ब्याज सहित ५१ अर्बमा सकाउने लक्ष्य राखिएपछि समयावधि बढ्दा आयोजनाको लागत बढेर ८० अर्ब हारहारीमा पुगेको छ । प्राकृतिक विपत्ति २०७२ को महाभुकम्प, अमेरिकी डलरमा आएको उतारचढाव, कोभिड १९ तथा अनेकन समस्याले गर्दा आयोजनाको लागत उल्लेख्य बढेको हो ।
पछिल्लो पटक प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आयोजनास्थल पुगेर आवश्यक निर्देशन तथा बिजुली उत्पादनको तयारीका बारेमा जानकारी लिएको थिए । यसअघि पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले हरेक महिना आयोजनास्थल पुगेर समस्या समाधानमा सहजीकरण गरेका थिए ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया