
बीमा समितिले इजाजतपत्र प्राप्त सबै बीमा कम्पनीलाई उधारो बीमालेख जारी नगर्न निर्देशन दिएको छ ।
समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई पत्र काट्दै बीमाशुल्क नलिई उधारो बीमालेख जारी नगर्न निर्देशन दिएको हो ।
समितिले कम्पनीहरुलाई बीमाशुल्क वापतको रकम आफ््नो बैंक खतामा प्राप्त भए पश्चात मात्र बीमालेख जारी गर्न निर्देशन दिएको हो ।
निर्देशन विपरित बीमालेख जारी गरेमा वा समितिको निरीक्षणको क्रममा त्यस अनुसारको गैरकानूनी काम गरेको पाईएमा कारबाही गर्ने समेत समितिले चेतावनी दिएको छ ।
बीमा कम्पनीहरुले उधारो बीमा गर्ने गरेको सम्बन्धमा बीमा समितिमा उजुरी परेको तथा गुनासो आएकाले कम्पनीहरुलाई यस्तो निर्देशन दिएको समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले जानकारी दिए । कानून विपरित त्यस्तो कार्य गरेमा बीमा ऐनमा उल्लेख भए बमोजिमको कारबाही गरिने उनले बताए ।
कानून विपरितका त्यस्ता गतिविधिहरु हुन नदिने जिम्मेवारी कम्पनीका कार्यकारी प्रमुखको हुने हुँदा उधारो बीमा गर्ने गराउने कार्य रोक्न तर्फ चनाखो रहनुपर्ने समितिले जनाएको छ ।
बीमा ऐन, २०४९ को दफा २७ मा “कुनै पनि बीमकले कुनै पनि किसिमको बीमा व्यवसाय गर्दा लिईने बीमा वापतको शुल्क रकम प्राप्त नभएसम्म बीमा जोखिम स्वीकार गर्न हुदैन, बीमकले जोखिम ग्रहण गरे वापत बीमाशुल्क रकम प्राप्त गरेपछि मात्र बीमा गरेको मानिने छ” उल्लेख छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया