शेयर बजार सूचक मापक नेप्से घट्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । यसअघिका तीन कारोबार दिन घटेको नेप्से बुधबार थप ठूलो अंकले घटेको हो । पछिल्लो चार दिनमा मात्रै नेप्से ४२ अंकले घटेको छ ।
आइतबार ८ अंकले घटेको बजार सोमबार ११ र मंगलबार ५ अंकले घटेको थियो । बुधबार पनि बजार सूचक १७ अंकले घटेको छ ।
नेप्सेका अनुसार बुधबार १६.९७ अंकले नेप्से घटेर २८०१.१३ बिन्दुमा झरेको छ । यसदिन २२२ कम्पनीका १ करोड १६ लाख ६४ हजार २०७ कित्ता शेयर ४६ हजार १८३ वटा संख्याको कारोबारबाट ४ अर्ब ५८ करोड ५८ लाख ६१ हजार ९७६ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
कारोबारमा आएका १३ समुहका सूचकमध्ये विकास बैंक र लघुवित्त बाहेक सबै समुहको शेयर सूचक घटेको छ । जलविद्युत, उत्पादन र होटल तथा टुरिजम् इइन्डेक्स २ प्रतिशत धेरैले घटेको छ ।
आजको बजारमा छिमेक लघुवित्तको सबैभन्दा धेरै ४३ करोड ५४ लाख रुपैयाँको शेयर कारोबारमा आएको छ । अपर तामाकोशी २६ करोड, हिमालयन डिष्टिलरी साढे २३ करोड, पुनर्बीमा कम्पनी साढे १४ करोड, निर्धन उत्थान लघुवित्त १४ करोड, नेपाल टेलिकम पौने १२ करोड, निफ्रा ११ करोड, एनआईसी एशिया १० करोड, नेपाल इन्सयोरेन्स साढे ९ करोड र सिद्धार्थ बैंकको पौने ९ करोडको शेयर कारोबार भएको छ ।
आजको बजारमा सेञ्चुरी कमर्सियल बैंकको संस्थापक र प्राइम कमर्सियल बैंकको संस्थापक शेयर साढे ३ प्रतिशत बढेर कारोबार भएको छ । सिभिल लघुवित्त, सामुदायिक लघुवित्तको ३ प्रतिशत धेरैले बढ्दा साधना लघुवित्त, एभरेष्ट इन्स्योरेन्स संस्थापक, कालिका लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, र मिर्मिरे माइक्रोफाइनान्सको शेयरमूल्य २ प्रतिशत बढीले बढेको छ ।
उता अपर तामाकोशीको शेयरमूल्य सबैभन्दा धेरै ५.४५ प्रतिशतले घटेको बजारमा युनाइटेड इदिमर्दी एण्ड आरबि हाइड्रोपावरको शेयरमूल्य पनि ५ प्रतिशत बढीले घटेको छ ।
राधी विद्युत, शिवश्री हाइड्रोपावर, घलेम्दी, युनियन हाइड्रोपावर, ओरियन्टल होटल, सेन्ट्रल फाइनान्स, खानीखोला हाइड्रोपावरको शेयरमूल्य पनि ३ प्रतिशत धेरैले घटेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया