‘लगानी प्रवद्र्धन, प्रविधि हस्तान्तरण र निर्यात विस्तार अबको कार्यसूची’

0
Shares

अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनमा नेपालले आफ्नो राष्ट्रिय हित प्रवद्र्धन एवं सार्थक आर्थिक साझेदारीलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा अन्तर्राष्ट्रिय सम्बन्धका जानकारले जोड दिएका छन् ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले यहाँ आज आयोजना गरेको अनुसन्धान कार्यशालामा उनीहरुले नेपालको विकासका लागि लगानी प्रवद्र्धन, प्रविधि हस्तान्तरण र निर्यात विस्तार नै अबको प्रमुख कार्यसूची हुनुपर्ने बताए ।

सो अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. पुष्पराज कँडेलले पाँच वर्षपछि मुलुकलाई विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिका निम्ति आयोगले कार्ययोजना र रणनीति तयार गरेको जानकारी दिए ।

कँडेलले भने “अन्तरराष्ट्रिय विकास सहायता परिचालन, आर्थिक कूटनीति, उत्पादनशील क्षेत्रमा विप्रेषणको उपयोग, त्यसको औपचारिक आप्रवाह, पर्यटन प्रवद्र्धनलगायत १२ विषयलाई समेटेर तयार गरिएको रणनीति १५ औं योजनाको महत्वपूर्ण मार्गचित्र हो ।”, दिगो विकासका लक्ष्यप्रतिको नेपालको प्रतिबद्धता र अल्पविकसित राष्ट्रबाट उठ्ने नेपालको रणनीति उनले सुनाए ।

नेपालको राष्ट्रिय हित र समग्र विकास केन्द्रित रणनीतिमा श्रम तथा रोजगारी, जलवायु परिवर्तनसम्बन्धी कोष, शान्ति सुरक्षा र अर्थतन्त्रको उन्नयनलाई उच्च प्राथमिकता दिइएको बताउँदै उनले त्यो ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा साकार गर्नेतर्फ परिलक्षित छ भने ।

देशका बौद्धिक प्रतिष्ठान, विद्वत् संस्था र विश्वविद्यालय शोध र अनुसन्धानका क्षेत्रमा कमजोर रहेको टिप्पणी गर्दै उनले तिनलाई प्राज्ञिक संस्थाका रुपमा विकास गर्नुपर्ने सुझाव दिए । पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अन्तरराष्ट्रिय व्यापार सहजीकरणका लागि आर्थिक कूटनीतिको सशक्त सञ्चालन परिहार्य भएको विचार व्यक्त गर्दै आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन अहिलेको आवश्यकता भएको बताए ।

पर्यटन प्रवद्र्धन तथा आर्थिक कूटनीति सञ्चालनका खातिर ३५ देशविशेष रणनीति बनाएर काम थालिएको जानकारी दिँदै उनले पर्याप्त जनशक्ति र स्रोत–साधनकाअभावमा लक्षित उपलब्धि हासिल हुन नसकेको स्वीकार गरे ।

उत्पादन वृद्धि र तिनको गुणस्तर कायम गर्ने तथा निर्यात व्यापार बढाउन निजी क्षेत्र सहित सबै सरकारी निकायबीच समन्वय हुनुपर्ने सुझाव दिँदै उनले तत्काल नाफा आर्जन गर्ने प्रवृत्तिबाट मुक्त हुनुपर्ने बताए । कुनै उत्पादनको माग बढे पनि गुणस्तरमा सम्झौता गर्ने परिपाटीले निर्यात व्यापार बढाउन कठिन भएको उनको कथन थियो । “आयात गर्ने देश मात्र होइन, निर्यात गर्न पनि सक्षम छ”, नेपाल उत्पादन र निर्यात गर्ने राष्ट्र पनि हो भन्ने परिचय स्थापित गर्न जरुरी भएको विचार व्यक्त गर्दै उनले भने ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले निर्यात प्रवद्र्धनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र निर्यात प्रवद्र्धन केन्द्रसँगको साझेदारीमा नेपाली सेवा तथा उत्पादनलाई विश्व बजारमा पु¥याउन भरमग्दुर प्रयास भइरहेको जानकारी दिए ।

उत्पादनविशेष रणनीति तयार गरी निर्यात बढाउने प्रयत्न भए पनि कार्यान्वयन पक्ष फितलो भएको टिप्पणी गर्दै उनले निर्यात वृद्धि गर्न निजी क्षेत्र अग्रपङ्क्तिमा आउनुपर्ने विचार व्यक्त गरे । बहुपक्षीय, क्षेत्रीय र द्विपक्षीय सम्बन्ध विस्तारको उपयोगी माध्यम आर्थिक कूटनीति भएको यथार्थ प्रस्तुत गर्दै परराष्ट्र सचिवले मन्त्रालय र विदेशस्थित नेपाली नियोग नेपालको राष्ट्रिय हित र स्वार्थ प्रवद्र्धनमा प्रतिबद्ध रहेको बताए ।

प्रतिष्ठानका कार्यकारी निर्देशक राजेश श्रेष्ठले संस्थाले पछिल्लो समय गरेका अनुसन्धान र आजको छलफलका विषय ‘आर्थिक कूटनीति र अन्तरराष्ट्रिय व्यापार सहजीकरण, दक्षिण एशिया र चीनका मूलधारका विद्वत् प्रतिष्ठानको समीक्षा र कोभिड–१९ का सन्दर्भमा सिमाना व्यवस्थापन, आप्रवासी कामदारको फिर्ती सुरक्षा र नेपालको बाह्य सम्बन्ध’बारे मन्तव्य व्यक्त गरे । प्रतिष्ठानले गरेका अनुसन्धानका ती विषयमा नै कार्यशाला आयोजना गरिएको हो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २४ असार २०७८, बिहीबार  १७ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।