लक्ष्मी बैंकको दुई अर्बको ऋणपत्रमा आवेदन दिने आज अन्तिम

0
Shares


लक्ष्मी बैंक लिमिटेडले असार २८ गतेदेखि निष्काशन गरेको २ अर्ब रुपैयाँ बराबरको डिबेञ्चरमा आवेदन दिने मंगलबार अन्तिम दिन रहेको छ ।

बैंकले छिटोमा असार ३१ गतेसम्म जारी गरकोमा यस समयभित्र निष्काशित सबै इकाई खरीदका लागि माग नपरेपछि समय ढिलो मितितर्फ धकेलिएको थियोे । तर ढिलोमा साउन ११ गतेसम्म आवेदन दिन पाउने व्यवस्था भएपनि सोमबारसम्म निष्काशित सबै इकाई बिक्री भएपछि मंगलबार कार्यालय समयपछि बिक्री बन्द हुने भएको हो ।

ऋणपत्रमा लगानी गर्न इच्छुक लगानीकर्ताले सिडिएससीको मेरो शेयर एप तथा वेवसाइटका साथै नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् । आवेदन पेश गर्दा न्यूनतम २५ कित्ता र अधिकमत १ लाख कित्ता सम्मका लागि आवेदन दिन सकिने छ ।

बैंकले दश वर्ष अवधीका लागि ८.५ प्रतिशत व्याजदरमा ल्क्ष्मी बैंक डिबेन्चर २०८८ निष्कासन तथा बिक्री खुला गरेको हो । बैंकले दीर्घकालीन कर्जा लगानीको स्रोत जुटाउन वार्षिक ८।५० प्रतिशतको आकर्षक ब्याजदरमा ऋणपत्र बिक्री गरेको हो ।

बैंकले प्रति इकाई १ हजार रुपैयाँ अंकित दरमा कुल २० लाख इकाई ऋणपत्र निष्कासन गरेको छ । कूल निष्काशित ऋणपत्रमध्ये ८० करोड बराबरको ८ लाख कित्ता सर्वसाधारणका लागि बिक्रीमा ल्याइएको छ भने एक अर्ब २० करोड बराबरको १२ लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट अन्य संस्थाहरुलाई बिक्री गर्नेछ ।

ऋणपत्र बिक्री गर्न बैंकले नेपाल धितोपत्र बोर्डबाट असार १५ गते मंगलबार अनुमति पाएको थियो । ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

ऋणपत्रले इक्रा नेपालबाट मध्यम कर्जा जोखिम जनाउने ‘इक्राएनपी आईआर त्रिपल बी प्लस’ रेटिङ्ग पाएको छ । सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित मानिन्छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ श्रावण २०७८, मंगलबार  ११ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।