बैंकिङ सेक्टरमा बहार छाएसँगै आइतबार धितोपत्रको कुल बजार पूँजीकरण हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बजार पूँजीकरणको यो आकार इतिहासकै सबैभन्दा ठूलो आकार हो ।
यसअघि २०७८ जेठ ३१ गते सोमबार नेप्से ४२.७२ अंकले उकालो लाग्दा समग्र बजार पूँजीकरण ४२ खर्ब १६ अर्ब १६ लाख रुपैयाँ पुग्दै समग्र बजार पूँजीकरणमा रेकर्ड कायम भएको थियो । उक्त मितिभन्दा आइतबार ३८ अर्ब धेरै पुगेको हो ।
यसअघि एक वर्षअघि २०७७ साउनमा कुल बजार पूँजीकरण १७ खर्ब ९२ अर्ब रुपैयाँ थियो । शेयर बजारमा भएको उच्च वृद्धिका कारण २०७७ साउनदेखि २०७८ साउन १० गतेसम्म लगानीकर्ताको सम्पत्ति २४ खर्ब ६२ अर्ब रुपैयाँ बढेको छ । यसरी कुल बजार पुँजीकरण एकै वर्षमा १३७ प्रतिशत वृद्धि भएको छ ।
शेयर मूल्यमा भएको वृद्धिका कारण गएको एक आर्थिक वर्षमा लगानीकर्ताको सम्पत्तिमा बढोत्तरी आए पनि त्यो नाफा भने होइन । नाफा हुन लगानीकर्ताले सेयर बिक्री गरी नगद नै हात पार्नुपर्छ । यस कारण किताबी (लेखांकन) रूपमा मात्र लगानीकर्ताको सम्पत्तिको मूल्य बढेको हो ।
नेप्सेका अनुसार आज (साउन १० गते) कुल बजार पूँजीकरण ४२ खर्ब ५४ अर्ब ७५ करोड ३० लाख रुपैयाँ पुगेको छ । लाभांश सिजनले वाणिज्य बैंकको शेयरमूल्य आएको वृद्धिसँगै शेयर बजारको पूँजीकरणको आकार पनि अहिलेसम्मकै सबैभन्दा ठूलो भएको हो ।
बजार पूँजीकरण कम्पनीको शेयर र अन्तिम मूल्यको गुणनफल भएकाले शेयर मूल्यसँगै पूँजीकरण पनि बढ्छ । हाम्रो बजारमा संस्थापक र पब्लिक शेयर दुबै भएपनि दैनिक कारोबारमा एकाध बाहेक पब्लिकको मात्र हुने गरेको छ । बजार पूँजीकरणले समग्र बजारको अवस्थालाई समेत देखाउने भएकाले लगानीकर्ताको आम्दानी तथा नोक्सानीलाई प्रत्यक्ष मूल्याङ्कन गर्न सकिन्छ ।
आइतबार मात्र शेयर बजार सूचक नेप्से ५४.३१ अंकले बढेर ३०५८.६३ बिन्दुमा पुगेको छ । नेप्से ५४.३१ अंकले उकालो लाग्दा आइतबार मात्रै बजार पूँजीकरण ७५ अर्ब ५७ करोड ८३ लाख रुपैयाँले बढेको हो । बिहीबार ४१ खर्ब ७९ करोड १७ करोड ४३ लाख रहेको थियो ।
नेप्सेको बजार पूँजीकरण गणना गर्दा सूचीकृत कम्पनीको शेयर मूल्यको महत्वपूर्ण भूमिका हुन्छ । बजार पूँजीकरणलाई शेयर बजारको सम्पत्तिको रुपमा बुझिन्छ । नेप्सेमा सूचीकृत शेयरहरुको कूल बजार मूल्य अर्थात सम्पूर्ण सूचीकृत कम्पनीको शेयर मूल्य र शेयर संख्याको गुणनफल नै बजार पूँजीकरण हो ।
यसअवधिमा बजारमा शेयरको आपूर्ति उल्लेख्य बढेको छ । यो अवधिमा बैंक वित्तीय संस्थाहरुले बोनसमा जोड दिएका छन् भने मर्जर तथा प्राप्ती कारण समेत बलिया संस्थाको रुपमा विकसित भैरहेको अवस्था रहेको छ ।
जलविद्युत तथा उत्पादन मुलक क्षेत्रका कम्पनीहरुको सहभागिता पनि बढेको छ । सूचीकृत कम्पनीको हकप्रद शेयर पनि उत्तिकै थपिएको छ । त्यसैगरी नयाँ कम्पनीहरुको साधारण शेयरका कारण पनि शेयरको आपूर्ति र मूल्य बढेको अवस्था छ ।
कोरोना भाइरसका कारण समग्र अर्थतन्त्र गतिशिल हुन नसकेको अवस्थामा शेयर बजारमा भने दिनप्रतिदिन आकर्षण बढिरहेको छ । पुरानासँगै ठूलो संख्यामा नयाँ लगानीकर्ताको बजार प्रवेशले नेप्से सूचकको निरन्तरको वृद्धि टिकेको छ ।
त्यतिमात्र नभई बैंक वित्तीय संस्थाको ब्याजदर घटेको र गत आवको समाप्तीसँगै बैंकिङ्ग प्रणालीमा असारे विकासले बढाएको निक्षेपले तरलता प्रयाप्त भएको अवस्था छ । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको ऋण समेत शेयर बजार थपिएको अनुमान छ । त्यसले बजार बजार सुधारमा महत्वपुर्ण भुमिका खेलेको छ ।
धितोपत्र बजार ‘ओभर भ्याल्यूड’
कुल ग्राहस्थ उत्पादनको आँकडालाई हेर्दा नेपालको धितोपत्र बजार ‘ओभर भ्याल्यूड’ को अवस्थामा पुगेको छ । कोरोना भाइरस संक्रमण कारणका लगानीका अन्य क्षेत्रमा आएको संकुचन, शेयर बजारमा संस्थागत लगानीकर्ता र ब्यापारिक क्षेत्रको समेत लगानी थपिँदा बजार ‘ओभर भ्यालुड’ भएको हो ।
धितोपत्र बजार बजार पूँजीकरण कुल ग्राहस्थ उत्पादनको ५० देखि ७५ प्रतिशतसम्म रहेको अवस्थालाई समान्तर धितोपत्र बजार ‘अण्डर भ्यालुड’ रहेको बुझिन्छ । यस्तै ७५ देखि ९० प्रतिशतमा रहनुलाई धितोपत्र बजार सन्तुलित अवस्थामा रहेको बुझिन्छ । त्यसैगरी कुल ग्राहस्थ उत्पादनको तुलनामा धितोपत्र बजारको पूँजीकरण १०० देखि ११५ प्रतिशतसम्म छ भने त्यो ओभर भ्यालुड भएको मानिन्छ ।
केन्द्रीय तथ्यांक विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ को अन्त्य सम्ममा नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) को आकार ३९ खर्ब ४३ अर्ब ६६ करोड रुपैयाँ छ ।
सोमबार धितोपत्र बजार पूँजीकरण कुल ग्राहस्थ उत्पादनभन्दा ३ खर्ब ११ अर्ब माथि पुगेको छ । सोमबार बजार पूँजीकरण ४२ खर्ब ५४ अर्ब रुपैयाँ कायम भएको छ । यो कुल ग्राहस्थ उत्पादनका आधारमा १०७.८९ प्रतिशत हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया