राजस्व अनुसन्धान कार्यालय बुटवलले एभरेष्ट मोवाइल सेन्टरका प्रोपराइटर विष्णु ज्ञवाली उपर १४ करोड ७५ लाख रुपैयाँको मागदाबी लिएर उच्च अदालत तुल्सीपुर बुटवलमा सोमबार मुद्दा दायर गरेको छ ।
रुपन्देही, जिल्ला सिद्धार्थनगर नगरपालिका वडा नं. ९ रुपन्देही स्थायी ठेगाना भएका एभरेष्ट मोवाइल सेन्टरका प्रोपराइटर ज्ञवालीले मोबाईलजन्य मालवस्तुहरुको बिजक जारी नगरी तथा भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको विभागले जनाएको छ ।
कार्यालयका अनुसार फर्ममा रहेका मोबाईलजन्य मालवस्तुहरुको भौतिक गणना गर्दा देखिएको मौज्दात र बिक्रीको विवरण फरक देखिएको, निजले पेश गरेको वित्तीय विवरण र आय विवरणमा बिक्री आय लुकाएको, मालवस्तु विक्री गर्दा बिल बिजक जारी नगरी न्यून मौज्दात देखाएको थियो ।
अनुसन्धानका क्रममा उनको पसलबाट भन्सार चोरी पैठारी गरी मालवस्तुको अधिक मौज्दात देखाई निज प्रतिवादीले अवैध (लुज) बिल बिजकबाट मालवस्तु खरिद र बिक्री गरी वास्तविक बिक्री आय लुकाएको, बिल बिजक जारी नगरी मालवस्तु बिक्री गरिएको तथा भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको पाईएको विभागले जनाएको छ ।
ज्ञवाली उपर आव २०७३/७४ देखि २०७५/७६ सम्मको अवैध (लुज) बिलबाट कायम गरिएको बिक्रीतर्फ, अधिक मौज्दातबाट ७ करोड ३७ लाख ७५ हजार ५७६ रुपैयाँ कायम भएको बिगो कायम गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन, २०५२ बमोजिम कायम भएको विगोको शत प्रतिशत जरिवाना तथा ३ वर्षसम्म कैद सजायको मागदावी गरी अभियोग पत्र दायर गरिएको कार्यालयले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया