एफएनसीसीआई र सीएनआईबीच संस्थागत सहकार्य र कार्यगत एकतामा जोड

0
Shares

निजी क्षेत्रका दुई छाता संगठनहरु नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ (सीएनआई)ले मुलुकको समृद्धिका लागि निजी क्षेत्रका संस्थाहरूले संस्थागत सहकार्य र कार्यगत एकता गर्दै साझा एजेण्डामा काम गर्नुपर्नेमा जोड दिएका छन् ।

महासंघले सीएनआईका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा आज महासंघ सचिवालयमा आयोजना गरेको स्वागत कार्यक्रममा दुबै संस्थाका पदाधिकारीहरूले सो कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले सीआनआईका पदाधिकारीहरूको स्वागत गर्दै कार्यगत एकताको प्रस्ताव राखेका थिए । निजी क्षेत्रको प्रवद्र्धनका लागि काम गर्न अपरिहार्य भएकाले दुवै संस्था बीच साझा एजेण्डा तय गरेर अगाडि जानुपर्ने उनले बताए ।

दुई संस्थाबीच कोरोना महामारिबाट मुलुुकको अर्थतन्त्र उद्योग व्यवसाय कमजोर बनेका समयमा श्रमिक कामदारको तलवको विषय, कृषिमा विदेशी लगानी, बन्द हड्ताल लगायतका मुद्दामा भएका सहकार्यबाट निकै ठूलो सफलता प्राप्त भएकाले आगामी दिनमा पनि प्राथमिकता तय गरी जानुुपर्नेमा जोड दिइएको छ ।

त्यसका लागि एउटा स्थायी प्रकृतिको संयन्त्रनै निर्माण गरेर जान सकिने धारणा व्यक्त गरियो । यसका लागि छिट्टै संस्थागत सहकार्यलाई औपचारिकता दिनुपर्नेमा पनि सहमति जनाइएको छ ।

अध्यक्ष गोल्छाले सम्मानित निजी क्षेत्र र समुन्नत नेपाल निर्माण हामी सवैको साझा चासो भएकाले हामीले आर्थिक एजेण्डामा बलियो सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए । उनले भने “दुवै संस्थाको स्ट्रेन्थबाट थुप्रै कार्य गर्न सक्छौं, अध्यक्ष गोल्छाले भन्नुुभयो हामीले आउने दिनमा अझ बढी सहकार्यका हातहरू अगाडि बढाउनै पर्छ ।”

मुलुकको अर्थतन्त्रको विस्तार, रोजगारी अभिवृद्धि, आर्थिक विकास दोहोरो अंकमा लैजाने र व्यापार घाटा आधा कटौती गर्ने मुख्य लक्ष्यका साथ महासंघले अगाडि सारेको नेट २०३० र सीएनआईले अगाडी बढाएको मेक इन नेपाल अभियानलाई कहाँ र कसरी सहकार्यका साथ काम गर्न सकिन्छ पहल गरौं, अध्यक्ष गोल्छाले भने ।

सीएनआईका नवनिर्वाचित अध्यक्ष विष्णु कुमार अग्रवालले संस्थागत सहकार्यका लागि महासंघले राखेको प्रस्तावमा सहकार्य गर्न सीएनआई तयार रहेको बताए । अध्यक्ष अग्रवालले निजी क्षेत्र बीच संस्थागत सहकार्य र कार्यगत एकतामा जोड दिंँदै निजी क्षेत्रको स्ट्रेन्थ देखाउन पनि सहकार्य बाहेक अर्को विकल्प नभएकाले प्राथमिकताका क्षेत्रहरू पहिचान गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।

सो कार्यक्रममा महासंघका अन्य वक्ताहरुले अर्थतन्त्रको करिव ७० प्रतिशत हिस्सा ओगट्ने निजी क्षेत्र माथि अहिले पनि पुरानै मानसिकताबाट हेर्ने दृष्टिकोण रहेकाले यसमा आमुुल परिवर्तन आवश्यक रहेको बताएका थिए । 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ श्रावण २०७८, मंगलबार  १९ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।