सानिमा लाईफको आईपीओमा ७ लाख २८ हजार आवेदन, २.२३ गुणा अधिक माग

0
Shares

सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ) मा पहिलो दिन बुधबार ७ लाख २८ हजार ८४० वटा आवेदन परेको छ । उक्त संख्याको आवेदनबाट २.२३ गुणाा बढी शेयर माग भएको हो ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार पहिलो दिन बुधबार साँझ पाँच बजेसम्म ७ लाख २८ हजार ८४० वटा आवेदन मार्फत १ अर्ब २० करोड १८ लाख २६ हजार रुपैयाँ बराबरका १ करोड २० लाख १८ हजार २६० कित्ताको माग परेको हो ।

सानिमा लाईफ इन्स्योरेन्सले बुधबार देखि प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको कुल ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको छ ।

कम्पनीको उक्त आईपीओमा साउन २४ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताले कम्पनीको आईपीओमा सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेभसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओलाई केयर रेटिङले“केयर एनपी बीबीबी” रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । त्यस्तै, कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने संकेत गर्दछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० श्रावण २०७८, बुधबार  १८ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।