.jpg)
सानिमा लाइफ इन्स्योरेन्सको साधारण शेयर (आईपीओ) मा आवेदनको ओइरो लागेको छ । निष्काशन बन्द हुने अन्तिम दिन आइतबार साँझसम्ममा कम्पनीको शेयरमा २४ लाख बढी आवेदन परेको हो ।
सानिमा लाइफको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कम्पनीको आईपीओमा २४ लाख १९ हजार १२७ वटा आवेदन परेकोे हो ।
उल्लेखित आवेदकहरुले ३ अर्ब ६९ करोड ४३ लाख ४४ हजार रकम बराबरको ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ता शेयर माग गरेको क्यापिटलले जनाएको छ । यो सर्वसाधारणमा निष्काशित शेयरको ६.८४ गुणा बढी हो ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशका २०७४ बमोजिम कम्पनीको आइपीओ ५ लाख ५४ हजार जनाले गोलाप्रथाबाट १० कित्ताका दरले प्राप्त गर्नेछन्। आइतबारसम्मको प्रारम्भिक तथ्याङ्कका आधारमा हेर्दा कुल आवेदकको २२ प्रतिशतले मात्र शेयर प्राप्त गर्ने अवस्था देखिन्छ भने ७७ प्रतिशतको आवेदक खाली हुने देखिन्छ । आवेदकमध्ये १८ लाख ७९ हजार १२७ जनाले शेयर नपाउने देखिन्छ ।
आईपीओमा प्राप्त हुने अन्तिम तथ्याङ्क र सो पश्चात रुजु भई शेयर प्राप्त गर्न योग्य आवेदकको यकिन भएपछि मात्र शेयर नपाउने संख्या र प्रतिशत थाहा हुनेछ । हाल प्रारम्भिक तथ्याङ्कमा यस्तो देखिएको हो ।
सानिमा लाईफ इन्स्योरेन्सले साउन २० गते बुधबार देखि प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको कुल ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको छ ।
कम्पनीको आईपीओलाई केयर रेटिङले“केयर एनपी बीबीबी” रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । त्यस्तै, कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने संकेत गर्दछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया