अर्थमन्त्री जनार्दन शर्माले पूँजी बजारमा उत्पादन क्षेत्रका कम्पनीहरुको उपस्थिति बढाउन संस्थागत तथा नीतिगत सुधारको आवश्यकता रहेको बताएका छन्।
मन्त्री शर्माले मंगलवार प्रतिनिधि सभाको बैठकमा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ प्रस्तुत गर्दै पूँजी बजारमार्फत उत्पादनमूलक क्षेत्रको विकासका लागि संस्थागत तथा नीतिगत सुधारको खाँचो औल्याएका छन् । 
अर्थमन्त्री जनार्दन शर्माले पूँजी बजारमा सूचीकृत कम्पनीहरुमा वित्तीय संस्थाको संख्या अधिक रहेकाले उत्पादन क्षेत्रका कम्पनीहरुको उपस्थिति बढाउनुपर्ने आवश्यकता औल्याएका हुन् । उनले पूँजी बजारमार्फत उत्पादनमूलक क्षेत्रको विकासका लागि पूँजी परिचालन गर्न आवश्यक संस्थागत तथा नीतिगत सुधारको खाँचो रहेको बताए ।
‘लगानीकर्ताको मनोबल उच्च पार्न सम्बन्धित निकायबाट नियमन र अनुगमनलाई थप प्रभावकारी बनाई, पूँजी बजारलाई सुशासनयुक्त, पारदर्शी, प्रविधिमैत्री र जवाफदेही वनाउनुपर्नेछ ।’ उनले भने । पूँजी बजारमा स्वचालित प्रणाली प्रवर्द्धन गर्ने र साना लगानीकर्ताको पहुँच बढाउँदै लगानीकर्ताको हित संरक्षण गरी स्वस्थ बजार प्रणाली विकास गर्दै लानुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
पछिल्लो एक वर्षमा नेप्से सूचकाङ्क दुई गुणा भन्दा बढीले वृद्धि भएको उल्लेख गर्दै उनले पूँँजी बजारमा नयाँ लगानीकर्ताहरुको प्रवेश एवम् वित्तीय स्रोतको सहज उपलब्धता लगायतका कारण नेप्से सूचकाङ्कमा तीब्र वृद्धि भएको बताए ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया